विकट गाउँको घुम्ती शिविरबाट चार हजारले लिए सेवा

इनेप्लिज २०७२ पुष १२ गते ६:२० मा प्रकाशित

फलेवास (पर्वत), १२ पुस । यहाँको एक दुर्गम गाउँमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट हजारौँले सेवा लिएका छन् ।

सदरमुकामसम्म आएर सेवा लिन नसक्ने दक्षिण पर्वतका १२ गाविसका बासिन्दाका लागि लक्षित गर्दै शुक्रबार र शनिबार सञ्चालन गरिएको शिविरमा हजाराँै स्थानीयले सेवा लिएका हुन् ।

हुवास गाविसमा सञ्चालन भएको शिविरमा नागरिकता, मतदाता नामावली, स्वास्थ्य परीक्षण तथा औषधि उपचार, पाठेघरको उपचार, परिवार नियोजनको छोटो र लामो समयको व्यवस्थापन, अपाङ्गता परिचयपत्र वितरण, माटो जाँच तथा बीउबिजन वितरण, बालीनाली उपचार, पशु स्वास्थ्य शिविरलगायतका सेवा प्रदान गरिएको थियो ।

सो अवसरमा ३४० जनाभन्दा बढीले नागरिकताको प्रमाणपत्र लिएका छन् । नागरिकता लिनेहरुमा बढीजसो भर्खरै प्रवेशिका परीक्षा पास गरेर उच्च शिक्षा पढ्ने युवायुवती रहेका छन् ।

त्यस्तै शिविरमा ४३ जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरिएको छ । जसमध्ये १२ जनालाई रातो, १३ जनालाई निलो, १५ जनालाई पहेँलो र तीनजनालाई सेतो वितरण गरिएको सहायक प्रजिअ सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । त्यस्तै ३०० भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।

शिविरमा जिल्ला कृषि विकास कार्यालयले एक हजार ५० जनालाई सेवा दिएको छ । जसमध्ये ५१ जनाले बाली बिरुवा परीक्षण गराएका छन् भने ३४५ जना कृषकले आफ्नो खेतबारीको माटो परीक्षण गरेका छन् ।

त्यस्तै ६६५ जनालाई तरकारीका बीउबिजन वितरण गरिएको छ । बेमौसमी काँक्रो, गोलभेँडा, करेला, घिरौला, लौका, भिन्डी, काउली, बन्दा, रायो, प्याजलगायत तरकारीका बीउबिजन वितरण गरिएको हो । सो अवसरमा परीक्षण गरिएको माटो मध्ये अधिकांस माटोमा पोटासको कमी देखिएको छ । केही ठाउँमा अम्लीयपना देखिए पनि धेरै ठाउँमा पोटासको कमी देखिएकाले युरिया र डिएपीसँगै पोटासको पनि प्रयोग गर्न सुझाव दिइएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले उक्त शिविरबाट धेरै कृषकले लाभ लिएको र अब कृषि कर्म गर्नका लागि सहयोग पुगेको पनि बताउनुभयो ।

त्यस्तै पशु स्वास्थ्य शिविरमा दुई हजार ३२८ जनाले सेवा लिएका छन् । पशुपक्षीलाई लागेका रोगको निदान, परामर्श, कृत्रिम गर्भाधान तथा औषधि वितरण गरेर दुई हजार ३२८ जनाले सेवा लिएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विमल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार व्यावसायिक र निर्वाहमुखी दुवै रुपमा पशुपालन गरेका कृषक बढी मात्रामा लाभान्वित भएका छन् ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयद्वारा सञ्चालित शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २५ जना पाठेघरका बिरामी, दुईजनाको परिवार नियोजन र बाँकीको साधारण स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डा भवानीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणका गाविसमा धेरै स्वास्थ्य समस्या भएको पाइएको छ । दुईजना शल्यक्रिया गर्नुपर्ने पाठेघरका बिरामीलाई पोखरामा निःशुल्क शल्यक्रियाको व्यवस्था पनि गरिएको छ ।

दक्षिण पर्वत विकास र सरकारी सेवाप्रवाहको दृष्टिकोणले पछाडि परेकाले सदरमुकामसम्म पुगेर सेवा लिन नसक्नेहरुलाई लक्षित गरेर गाउँमै सेवा दिने उद्देश्यले घुम्ती शिविर आयोजना गरिएको प्रजिअ झङ्कनाथ ढकालले जानकारी दिनुभयो । उहाँले स्याङ्जा, कास्कीलगायतका जिल्ला घुमेर, हजारौँ रुपैयाँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि गाउँमै सेवा दिइएको बताउनुभयो ।
शिविरमा दक्षिण पर्वतका हुवास, भोर्ले, सरौखोला, होश्राङ्दी, बेउलीवास, त्रिवेणी, टकलाक, उरामपोखरा, वहाँकीठाँटी, शालिग्राम, रानीपानी र बर्राचौर गाविसका बासिन्दाले सेवा लिएका थिए ।

प्रतिक्रिया