खोलाजन्य सामग्रीको चोरी निकासी

इनेप्लिज २०७२ पुष १२ गते ६:१८ मा प्रकाशित

परासी, १२ पुस । नवलपरासीका विभिन्न खोलानालाबाट दिनहुँ खोलाजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । खोला ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् ।

रातारात खोलामा ट्र्याक्टर लगेर खोलाबाट बालुवा र ढुङ्गा निकाल्ने काम भएको हो । खोला ठेक्का नलागेपछि तस्करहरुले पहिलेको तुलनामा बालुवा ढुङ्गाको भाउ दोब्बर पु¥याएका छन् ।

चुरे क्षेत्रको यकिन सीमाङ्कन नभएकाले र वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा पनि खोला ठेक्का लगाउने प्रक्रिया अगाडि नबढेको जिविस राजस्व शाखाका रिजवान अन्सारीले बताउनुभयो ।

नवलपरासीको तुरिया खोलाअन्तर्गत शुक्रौली गाविसको वडा नं ३, ४ र ५ तथा हकुई गाविसमा पर्ने तोनवा पुलसम्मको खोलामा दैनिक ३० वटा ट्र्याक्टरले बालुवा चोरी गरिरहेको स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी रामनगरको पानभार, झरही, अरुणखोला, बौलाहा खोलालगायतका खोलाबाट पनि दैनिक नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ ।

खोला ठेक्का नलाग्दा जिविसलाई दैनिक लाखौँको घाटा भएको छ भने जथाभावी बालुवा चोरी हुँदा वर्षात्मा समस्या आउने जानकारहरुले बताएका छन् ।

अनुगमन प्रभावकारी नहुँदा पनि चोरी निकासी बढेको हो । जिविसका केही कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको खोला छेउमा बस्ने स्थानीयवासीको आरोप छ ।

यता जिविसले खोलाको सतह हेरी कुन खोलाबाट कति नदीजन्य वस्तु निकाल्न सकिन्छ भनी टोली बनाएको र टोलीको प्रतिवेदन मन्त्रालयमा पठाएको जनाएको छ ।

प्रतिक्रिया