महाअधिवेशनले परिवर्तनको खोजी गर्नु पर्छः उपसभापति पौडेल

इनेप्लिज २०७२ पुष ८ गते १५:२९ मा प्रकाशित

ramchandra-paudelधनगढी, ८ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले परम्परागत र रुढीवादी सोचले अब पार्टी चल्न नसक्ने भन्दै पार्टीको आसन्न महाअधिवेशनले परिवर्तनको खोजी गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेसको आज यहाँ सुरु भएको ‘कस्तो बन्यो संविधान ? सद्भाव र एकताको अभियान ‘विषयक सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले पार्टीका लागि सही सोच्न सक्ने, बोल्न सक्ने र काम गर्न सक्नेले मात्र परिवर्तनको नेतृत्व गर्नसक्ने उल्लेख गर्नु भयो ।

उपसभापति पौडेलले काँग्रेसको नेतृत्वको सरकारले संविधान बनाउन सकेकोमा गौरवको विषय भएको चर्चा गर्दै यो संविधानले नेपाली समाजलाई आमूल परिवर्तन गर्न खोजेको धारणा राख्नु भयो ।

उहाँले भन्नुभयो– “काँग्रेस परिवर्तनका लागि लड्ने पार्टी हो, समाजमा परिवर्तन ल्याई रुपान्तरण गर्न काँग्रेसलाई कुनै हिच्किटाहट छैन ।”

संविधानका विशेषताका बारेमा समयमै जनतालाई बुझाउन नसकिएकाले केही समस्या देखिएको बताउँदै उहाँले संविधानमार्फत संस्थागत भएका उपलब्धिलाई बचाउन पनि काँग्रेस लागिपरेको छ भन्नु भयो ।

काँग्रेस प्रधानमन्त्री पदमा हारे पनि राजनीतिमा नहारेको उहाँको भनाइ थियो । काँग्रेसले राष्ट्रिय एकता र अखण्डतालाई बचाउनका लागि जानी बुझिकन प्रधानमन्त्रीको निर्वाचनमा प्रतिस्पर्धा गरेको उहाँले स्पष्ट पार्नुभयो ।

काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान परिवर्तनशील भएकाले यसमा चित्त नबुझेका कुरालाई संशोाधन गरेर समस्याको समाधान खोज्न सकिने बताउनुभयो ।

अर्का नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले गुटबन्दीभन्दा माथि उठेर सबैलाई समेट्ने नेतृत्वको पार्टीमा खाँचो रहेको औँल्याउनुभयो । उहाँले विगतका निर्दलवादी र एक दलवादी अहिले बहुदलवादी भएर काँग्रेसको बाटोमा आएको दाबी गर्दै यसमा पार्टीले गौरब गर्नुपर्ने चर्चा गर्नुभयो ।

अर्का नेता डा शशाङ्क कोइरालाले एमाओवादी र एमालेमा राजनीतिक अस्पष्टता भएकै कारण विगतमा ती पार्टीको नेतृत्वमा संविधान बन्न नसकेको भन्दै स्पष्ट विचार र दृष्टिकोण बोकेको काँग्रेस पार्टीको नेतृत्वमा देशको संविधान बनाउन सफलता मिलेको उल्लेख गर्नुभयो ।

काँग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा काँगे्रसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले प्रशिक्षणको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेता गगन थापा, नारायणप्रकाश साउँद, प्रदीप पौडेल, दीपक गिरी, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, किरण यादव, रञ्जित कर्ण, वुद्धिसागर चौधरी, नारायणदत्त मिश्र, ईश्वरी न्यौपाने, बद्री पाण्डे, कल्याण गुरुङलगायतले पनि समसामयिक राजनीति र संविधानका विषयमा बोल्नुभएको थियो ।

दुई दिने प्रशिक्षणमा नेपाली काँग्रेसका सुदूरपश्चिमका सबै नौ जिल्लाका पार्टी सभापति क्षेत्रीय सभापति सांसदलगायत सहभागी रहेका छन् ।

प्रतिक्रिया