समाजद्वारा करिब पाँच सय भूकम्पपीडित परिवारलाई सहयोग

इनेप्लिज २०७२ पुष ८ गते ३:१० मा प्रकाशित

रामेछाप, ८ पुस । खनियापानी गाविसका ४६१ भूकम्पपीडित घरपरिवारका लागि सामुदायिक विकास समाज मन्थलीले खानेपानी र शौचालय निमार्णमा सहयोग गरेको छ ।

संस्थाले युनिसेफको आर्थिक सहयोगमा त्यस गाविसका सबै घरको तथ्याङ्क सङ्कलन गरी भूकम्पले शौचालय भत्केका र खानेपानी योजना बिग्रिएका योजना तयार गरेको थियो । पीडितको मागका आधारमा उनीहरुको आवश्यकताअनुसार संस्थाको कर्मचारीले आफैँले तथ्याङ्क लिएर शौचालयका लागि आवश्यक सिमेन्ट, पेन पाइप र जस्तापाता उपलब्ध गराई सहयोग गरेको योजनाका प्राविधिक केशव दाहालले बताउनुभयो ।

समाजले भूकम्पपश्चात् चारवटा गाविसमा सञ्चालन गरेको चारमहिने परियोजनाअन्तर्गत उपभोक्ताको माग र आवश्यकताका आधारमा खानेपानी निर्माण र मर्मतको काममा समेत सहयोग पुर्‍याएको थियो ।
उक्त परियोजनाअन्तर्गत संस्थाले गरेको कामको प्रशंसा गर्दै उनीहरुले शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत थप सहयोग गर्न आग्रह गरेका थिए । परियोजनाले उक्त गाविसका करिब आधा दर्जनभन्दा बढी विद्यालयलाई अस्थायी सिकाइ केन्द्र निर्माणमा समेत सहयोग पु¥याएको जनाएको छ ।

प्रतिक्रिया