दुर्गम दम्दाला गाउँमा ५० लाखको सुन्तला

इनेप्लिज २०७२ पुष ६ गते ३:५४ मा प्रकाशित

orange-farm-khotang-640x480जाजरकोट, ६ पुस । यस वर्ष जाजरकोटको ढिमे गाविस–१ दम्दालामा रु ५० लाख मूल्य बराबरको सुन्तला फलेको छ ।

सुन्तलाखेती र यो वर्षको उत्पादनबारे स्थलगत रुपमा अनुगमन गर्न दम्दाला पुगेका जिल्लाका सरकारी अधिकारी, पत्रकार र राजनीतिक दलका नेताहरुलाई किसानले सुन्तलाखेतीको पकेट क्षेत्र दम्दालामा १०० हेक्टर जमिनमा रु ५० लाखको सुन्तला फलेको जानकारी गराएका थिए ।

दम्दालामा सुन्तला उत्पादनमा व्यावसायिक खेती गर्दै आएका किसानले वार्षिक रुपमा व्यक्तिगत रु एक लाख ५० हजारदेखि रु १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । बजार, सडक पहुँच र मूल्यको अभावमा पनि आफूहरुले रु ५० लाख बराबरको सुन्तला उत्पादन गरेर बजारमा पु¥याएको सुन्तलाखेतीका अगुवा किसान शक्तिबहादुर ओलीले बताउनुभयो ।

उहाँले आफूले यस वर्ष रु १० लाखको सुन्तला फलाएको बताउनुभयो । अगुवा किसान ओलीले दम्दालामा २०० घरपरिवारले व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेको र यो क्रम बढ्दो रुपमा रहेको उहाँको भनाइ छ । उहाँले दम्दालामा मात्र १०० हेक्टर जमिनमा सुन्तलाखेती गरिएको भन्दै प्राविधिक तथा राम्रो बजार पाए करोड बढीको सुन्तला बजारमा पुर्‍याउन सक्ने बताउनुभयो ।

दम्दालामा यो वर्ष २५ हजार रुखमा सुन्तला फलेको किसानले बताएका छन् । ओली जस्तै अर्का सुन्तलाखेती गरिरहेका किसान कर्णबहादुर थापाले आफूले यस वर्ष रु तीन लाख बराबरको सुन्तला फलाएको जानकारी दिनुभयो । सुन्तलाको दाना र बिरुवा उत्पादन गरेर रु तीन लाख आम्दानी गरेको थापाको भनाइ छ । थापाले बारीमा फलेको सुन्तला बजारमा पुर्‍याउन समस्या रहेको बताउनुभयो ।

सुन्तलाखेती अगुगमन गर्न गएको जिल्लास्तरीय अनुगमन टोलीसँग किसानले सुन्तलाखेतीको सम्भावना धेरै भए पनि समस्या र मागबारे कसैले सुनुवाइ नगरिदिएको गुनासो गरे । उनीहरुले सुन्तलाबारीसम्म सडक पहुँच नभएको, ढुवानीको समस्या रहेको, विभिन्न रोगको समयमै उपचार गर्न नसकिएको तथा बजार अभावमा उचित मूल्य नपाएको र यसतर्फ सहयोग गरिदिन अनुगमन टोलीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया