लुटेराको गोली प्रहारबाट एक घाइते

इनेप्लिज २०७२ पुष ५ गते ३:५२ मा प्रकाशित

goliबाबियाचौर (म्याग्दी), ५ पुस । म्याग्दीको दरवाङमा गएराति लुटेराहरुले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् ।

दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहिने पाखुरा र ढाडमा गोली लागेका उनको जिल्ला अस्पताल, बेनीमा उपचार भइरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दिच्यामका जङ्गबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट भएको थाहा पाएपछि छिमेकी मिलेर लुटेरालाई लखेट्न जाने क्रममा रोकालाई गोली प्रहार गरेको स्थानीय बासिन्दा दिनेश पुर्जाले बताउनुभयो । उहाँका अनुसार लुटेराले चार राउन्ड फायर गरेका थिए ।

लुटेराले जङ्गबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद रु सात हजारसहित कुखुरा लुटेर लगेको प्रहरीले जनाएको छ ।

राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको र लुटेराको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले बताउनुभयो ।

प्रतिक्रिया