निःशुल्क आँखा शिविरमा एकैदिन एघार सयको उपचार

इनेप्लिज २०७२ पुष ५ गते ३:२६ मा प्रकाशित

eyeफलेवास (पर्वत), ५ पुस । जिल्लाका दुई छुट्टाछुट्टै ठाउँमा एकैदिन आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एकैदिन एक हजार १०० भन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

उत्तरी पर्वतको माझफाँट गाविसस्थित मल्लाज र दक्षिण पर्वतको विकट गाउँ लुंखुदेउरालीमा शिविर आयोजना गरिएको हो । मल्लाजमा ३६० जनाको आँखा परीक्षण गरिएको छ भने लुंखुदेउरालीमा ७६८ जनाको उपचार गरिएको हो । जसमध्ये ३७ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रियासमेत गरिएको छ ।

लायन्स क्लब अफ चावहिल काठमाडौँको सहयोग र लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्र र सामाजिक विकास सशक्तीकरण अयिभानको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरको शनिबार उद्घाटन गर्दै सांसद कल्पना चापागार्इंले विकट गाउँका आँखा तथा दाँतका रोगीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने आयोजकको प्रशंसा गर्नुभएको छ ।

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा रमेशबहादुर प्रधान, वरिष्ठ दन्त रोग विशेषज्ञ डा रवीन्द्र जोशी, रोजिन प्रधानलगायतले बिरामीको परीक्षण गर्नुभएको थियो । उक्त शिविर तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा पर्वत र स्याङ्जाका गरी एक दर्जनभन्दा बढी गाविसका बासिन्दाले सेवा लिएका छन् ।

लायन्स क्लब अफ पर्वत, बेनी, मल्लाज र नेपाल रेडक्रस सोसाइटी माझफाँट उपशाखाको आयोजनामा मल्लाजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका छन् । उनीहरुलाई पुस ११ र १२ गते बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

आँखा उपचार केन्द्र, बेनीका प्रमुख दिनेश बानियाँको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण, चश्मा, औषधि वितरण र परामर्श सेवा दिएको थियो ।

प्रतिक्रिया