अपाङ्ग भूकम्पपीडितलाई ५० टहरा हस्तान्तरण

इनेप्लिज २०७२ पुष २ गते १:१४ मा प्रकाशित

भक्तपुर, २ पुस । ग्रामीण अपाङ्गता समन्वय समिति चाँगुनारायणले अपाङ्गता भएका भूकम्पपीडित परिवारलाई ५० वटा जस्ताको टहरा हस्तान्तरण गरेको छ ।

समितिले अपाङ्गता भएका भूकम्पपीडित परिवारलाई बस्ने ठाउँको अभाव भएपछि विभिन्न दाताको सहयोगमा टहरा निर्माण गरी हस्तान्तरण गरेको समितिका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

समितिले ८० जना अपाङ्गता भएकालाई खाद्यान्न, झुल, ब्लाङ्केट, चाउचाउँ, चिउरा र चारजनालाई ह्विलचियरसमेत वितरण गरेको जनाएको छ ।

थप ४० जना अपाङ्गता भएकालाई जाडोमा लगाउने ट्र्याकसुट वितरण गरिनुका साथै गत वैशाखको विनाशकारी भूकम्पका बेलामा उद्घार र राहत वितरणमा खटिएका १४ जना तथा संस्थालाई सम्मानसमेत गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि चाँगुनारायणमा डे केयर सेन्टरसमेत खोल्ने तयारी गरेको बताउँदै उहाँले चाँगुनारायण क्षेत्रमा मात्रै १४० जना अपाङ्गता भएका रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया