पश्चिम तरार्ईमा चिसोले जनजीवन प्रभावित

इनेप्लिज २०७२ मंसिर २८ गते ४:२५ मा प्रकाशित

Jado-Chiso-Nepalनेपालगन्ज, २८ मङ्सिर । दुई दिनदेखिको शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तरार्ईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

शीतलहरका कारण अत्यधिक चिसो बढ्नुका साथै घाम फिटिक्कै नलाग्नाले यस क्षेत्रका तराईका जिल्लामा दिनभरि शीतलहर तथा साँझ पर्नेबित्तिकै कुहिरो लाग्न क्रम सुरु भएको छ ।

पश्चिम क्षेत्रको मुख्य तराईका सहरहरु नेपालगन्ज, बर्दिया, धनगढी, टीकापुर, कोहलपुरमा लगातार दुई दिनदेखि घाम लागेको छैन ।

चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार जाडोबाट अधिक प्रभावित भएको पाइएको छ ।

तराईका जिल्लामा घाम नलागेपछि खेतमा लगाइएको तोरी, गहँु, मसुरो, चना, अरहर तथा हिउँदे तरकारी बालीमा प्रतिकूल प्रभाव परेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत सकिल अहमदले बताउनुभयो ।

शीतलहरका कारण आलु र गोलभेँडाका बोटमा ‘डढुवा’ नामको रोग लाग्ने सम्भावनासमेत बढेकाले व्यावसायिक तरकारीखेतीमा संलग्न कृषक चिन्तित देखिएका छन् ।

यसैगरी, अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफायड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेका दाउरा बालेर दिनभरि तापेर बसेको देख्न सकिन्छ ।
पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको हो ।

तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । भिजिविलिटी नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायतका स्थानको उडान रद्द हुने वा ढिलो हुने गरेको छ ।

प्रतिक्रिया