धनुषामा एसएलसी नमुना अभ्यास परीक्षा

इनेप्लिज २०७२ मंसिर २५ गते १:४८ मा प्रकाशित

महेन्द्रनगर (धनुषा), २५ मङ्सिर । धनुषामा एसएलसी परीक्षाको नतिजा राम्रो बनाउनका लागि ‘एसएलसी नमुना अभ्यास परीक्षा’ सञ्चालन गरिएको छ ।

बिहीबारबाट सुरु गरिएको परीक्षामा विभिन्न सातवटा विद्यालयका करिब ४५८ विद्यार्थी सहभागी भएका छन् ।

जनता उच्चमावि बनिनियाँ, लक्ष्मी जनता उच्चमावि कुम्भरौडा, सर्वोदय उच्च मावि पौडेश्वर, कन्टिर झा उच्चमावि वभनगामा, विपी कोइराला मावि सपही, विसास मावि सिनुरजोडा र राजा मावि झिटकैयाका विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।

ती विद्यार्थीलाई फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर एसएलसी परीक्षामा अपनाइने सम्पूर्ण प्रक्रिया पूरा गरी अभ्यास परीक्षा लिइरहेको सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले बताउनुभयो ।

धनुषामा एसएलसीको नतिजा निकै कमजोर आएको अवस्थामा सुधार ल्याउने उद्देश्यले नमुना परीक्षा सञ्चालन गरिएको जानकारी आयोजक प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले दिनुभयो ।

नेपालमै पहिलो पटक यस्तो नमुना परीक्षा भइरहेको बताउँदै उहाँले भन्नुभयो – “फलामे ढोका भनेर डरलाग्दो रुपमा प्रचार गरिएको एसएलसी परीक्षाका लागि मानसिक रुपमा सहजै तयार हुन र अहिलेसम्म गरेको तयारीको कमीकमजोरी विद्यार्थीलाई महसुस गराउन यो परीक्षा उपयोगी हुनेछ ।”

पछिल्लो एसएलसीमा समग्रमा देशकै नतिजा कमजोर आए पनि धनुषा जिल्लाको झन २८ प्रतिशतमात्रै आएको थियो । अहिले नमुना परीक्षा लिइरहेको सात विद्यालयको त १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको सहायक जिसिअ झाले बताउनुभयो ।

प्रतिक्रिया