आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:१५
वासिङटन डिसी 21:30

दाङमा राप्ती नदी पार गराउन बालिघरे प्रथा

इनेप्लिज २०७२ मंसिर २२ गते ६:२० मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), २२ मङ्सिर । कपडा सिलाए तथा फलामको भाँडा बनाएबापत वर्षौंदेखि लिने गरेको बालिघरे प्रथा पछिल्ला वर्षहरुमा जिल्लामा कतै छिटफुट रुपमा रहे पनि डुङ्गा सम्बन्धित (नदी वारपार) गराउनमा भने बालिघरे प्रथा अझै कायम छ ।

यो चलन अहिले दाङको देउखुरी क्षेत्रका नागरिकलाई नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसले ज्यालाबापत धान, गहु, मसुरोलगायतका अन्न बाली लिने गर्छन् ।

सो क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त मात्रामा पुलपुलेसा नभएका कारण ठाउँठाउँमा स्थानीयवासीले यो बालिघरे प्रथा चलाएको बताएका छन् ।

नदी वारपार गराएबापत मौसमअनुसारको अन्न धान, मकै, गहुँ, जौ जुन बाली रोप्छौँ सोही नै बोटेलाई दिने गर्छांै सतबरिया– ८ की सीता चौधरीले भन्नुभयो ।

गाउँलेसँग अन्नबाली उठाउँछु । घर परिवारलाई त्यही आम्दानीबाट चलाउने गरेको बताउनुहुन्छ सतबरिया– ८ पैतेकाका बोटे शिव चौधरी ।” उहाँ सतबरिया– ८ मा रहेको राप्ती नदीको रिहार घाटबाट डुङ्गा खियाउने गर्नुहुन्छ ।

बाउन्न वर्षीय चौधरीले विगत २२ वर्षदेखि सोही पेसा गर्दै आएको बताउनुभयो । उहाँले त्यहाँ दुईवटा काठका डुङ्गा राखेर नदीमा बाढी आएका बेला ठूलो र पानी कम भएका बेला सानो डुङ्गा चलाउने गरेको बताउनुभयो ।

त्यस घाटबाट सतबरिया, रिहार पैते तथा राजपुर गाविसको गङ्गदी, सालभौरी, गङ्गदीखोलालगायतका गाउँलेलाई नदी वारपार गराउने गरेको जानकारी दिनुभयो ।

सो काम गरेबापत परिवारको सङ्ख्या हेरेर मौसमअनुसारको अन्न पाथीदेखि मुरीसम्म एक परिवारबाट लिने गरेको उहाँले बताउनुभयो ।

रिहार र पैतेका अधिकांश मानिसको खेतीपाती सबै नदी पारि नै छ वर्षायाममा निकै सास्ती हुने गरेको पनि बोटे चौधरीले भन्नुभयो ।

हामीले त डुङ्गाबाट नदी वारपार गर्छौं तर गाईगोरुलाई त निकै धौ हुन्छ कति त तर्न नसकेर मर्नेसमेत गरेको रिहारका कमला चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी बोटेले नदी वारपार गराएबापत परिवारको सङ्ख्याका आधारमा बाली लिने गरेका छन् ।

त्यसैगरी बाहिरका गाउँबाट आउने मानिसलाई भने नदी वारपार गरेबापत प्रतिव्यक्ति रु १५ लिने गरिएको छ ।

राप्ती नदीमा अधिकांश ठाउँमा पुल नहुँदा स्थानीयवासीलाई निकै सास्ती हुने गर्दछ । विशेष गरी जिल्लाको सतबरिया, राजपुर, गङ्गापरस्पुर, गोबडिहालगायतका गाविसमा यो समस्या बढी छ ।

प्रतिक्रिया