सम्बन्ध विच्छेदका घटना बढ्दै

इनेप्लिज २०७२ मंसिर २१ गते ४:४६ मा प्रकाशित

imageधनगढी, २१ मङ्सिर । कैलाली जिल्लामा श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुने घटना बढ्दै जान थालेका छन् ।

अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासँगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसँग सम्बन्ध बढाउनेलगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेको बताइएको छ ।

सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो ।

कैलाली जिल्ला अदालतमा यस वर्ष गएको साउनदेखि हालसम्म पाँच महिनाको अवधिमा मात्रै सम्बन्ध विच्छेदका ३९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष विसं २०७१ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा योभन्दा कम मुद्दा दर्ता भएका थिए ।

“अदालतमा परेका मुद्दामध्ये अधिकांश तीन÷चार वर्षअघि मात्रै विवाह भएका नयाँ जोडीहरु रहने गरेका छन्”, अदालतका स्रेस्तेदार भट्टले भन्नुभयो – “यसमा पनि प्रेम विवाह गर्नेहरु बढी रहेका छन् ।”

चालु वर्षमा दर्ता भएका मुद्दामध्ये नौ मुद्दाको अदालतले फैसला गरिसकेको छ । बाँकी मुद्दाहरु कारबाहीको प्रक्रियामा रहेका छन् ।

अंश दिलाई सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि अंश नलिइकन सम्बन्ध विच्छेद गराउन चाहनेहरु बढी रहेको बताइएको छ ।

अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर अंशसहितको सम्बन्ध विच्छेद गर्न चाहनेहरुको फैसलामा केही ढिलाइ हुने गरेको छ । अंश लाग्ने सम्पत्तिको दुवै पक्षको फाँटवारी पेस गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस्ता मुद्दाको फैसला केही ढिलो हुने गरेको छ ।

प्रतिक्रिया