राष्ट्रपतिलाई ध्यानाकर्षण

इनेप्लिज २०७२ मंसिर २० गते १२:०८ मा प्रकाशित

bidhya-bhandariकाठमाडौँ, २० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल किड्नी फाउण्डेसनले मुलुकमा मिर्गौला रोगीको अवस्था तथा समस्याका बारेमा ध्यानाकर्षण गराएको छ ।

फाउण्डेसनका अध्यक्ष डा शक्ति बस्नेतको नेतृत्वमा आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकामा चार दिनसम्म दुई हजार ३०० व्यक्तिको निःशुल्क परीक्षण गर्दा देखिएको समस्याका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएको छ ।

यही मङ्सिर १४ देखि १८ गतेसम्म फाउण्डेसनले सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणको व्यवस्था गरेको थियो । परीक्षण गराउन आएकामध्ये सात प्रतिशतलाई मिर्गौलामा समस्या देखिएको थियो ।

प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले मिर्गौला रोगीका समस्याका बारेमा सरकारको ध्यानाकर्षणका लागि पहल गर्ने आश्वासन दिनुभएको प्रतिनिधि मण्डलका सदस्य डा सुजता शेरचनले जानकारी दिनुभयो ।

सोही संस्थाले अघिल्लो दिन परीक्षणको नतिजा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको जनाएको छ ।

यसैबीच संस्थाद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा बस्नेतले मिर्गौला रोग खर्चिलो भएकाले यसको उपचारभन्दा पनि पहिला नै रोग लाग्न नदिनेतर्फ लाग्न सुझाव दिँदै आगामी दिनमा उपत्यका बाहिर मिर्गाैला रोगको विषयमा जनचेतना फैलाउन तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राज्य अमेरिकास्थित ब्रिज अफ लाइफ नामक संस्थाकी कार्यक्रम संयोजक काटी च्यान्डरले मिर्गाैला रोग उपचारभन्दा पनि जनचेतना प्रभावकारी हुने बताउँदै आफ्नो संस्थाले नेपालमा डाइलोसिस मेसिन तथा उपकरण सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया