नाकाबन्दीले आर्थिक वृद्धिदर ऋणात्मक हुने आवस्था रहेको: गभर्नर नेपाल

इनेप्लिज २०७२ मंसिर १९ गते १४:५८ मा प्रकाशित

C-Nपाल्पा, १९ मङ्सिर । राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजबुत हुने बताउनुभएको छ ।

उहाँले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने दाबी गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा बोल्दै गभर्नर डा नेपालले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनबाट समृद्धि सम्भव छ भन्नुभयो । देश प्राकृतिकरुपमा सम्पन्न भएकाले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनले देशको विकास गर्न र राष्ट्रलाई मजबुत बनाउन सकिने धारणा उहाँले राख्नुभयो ।

उहाँले भारतले गरेको अघोषित नाकाबन्दी दुई/चार दिनभन्दा बढी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुने अवस्था रहेको बताउँदै अहिलेसम्म सञ्चित पुँजीको अवस्था राम्रो रहे पनि विकास खर्च र कर सङ्कलनमा गम्भीर स्थिति देखापरेको जानकारी दिनुभयो ।

गभर्नर नेपालले नाकाबन्दीले निर्यात २५ प्रतिशत र आयात ३२ प्रतिशतले घटेको बताउँदै आन्तरिक अर्थतन्त्र सुदृढ हुन नसकेकामा चिन्ता गर्नुभयो ।

प्रतिक्रिया