नारायणगढ मुग्लिन सडक विस्तार कार्य अवरुद्ध

इनेप्लिज २०७२ मंसिर १९ गते ४:२९ मा प्रकाशित

चितवन, १९ मङ्सिर । राजधानी काठमाडौँ प्रवेश गर्ने महत्वपूर्ण मार्गका रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गर्ने कार्य इन्धनको अभाव भएपछि झन्डै दुई महिना यता ठप्प रहेको छ ।

सडकलाई तीन भागमा विभाजन गरी तीन ठेकेदार समूहलाई सन् २०१७ को अप्रिलसम्म सम्पन्न गर्ने गरी गत अप्रिलमा ठेक्का सम्झौता गरिएको थियो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवाहन परियोजनामार्फत विश्व बैंकको रु दुई अर्ब ९० करोडको लगानीमा निर्माण थालिएको हो ।

परियोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार तीन वटा साइडमा १३ वटा स्काभेटर र २५ वटा टिपर नियमित सञ्चालनमा थिए । दैनिक तीन हजार ५०० लिटर डिजेल ती उपकरणलाई आवश्यक पर्ने भए पनि इन्धन नै नभएपछि काम रोकिएको छ ।

नियमित काम भएको भए हालसम्म १४ प्रतिशत काम सम्पन्न हुने भए पनि ३.५ प्रतिशत मात्र काम भएको सूचना अधिकारी खनालले बताउनुभयो ।

सो सडकको आँपटारीबाट दासढुङ्गासम्मको १० किलोमिटर भाग भारतीय बिएलए र नेपालको श्रेष्ठ कन्स्ट्रक्सनले संयुक्तरुपमा ठेक्का पाएको छ भने दासढुङ्गाबाट सिमलतालसम्मको ११ किलोमिटर भारतीय उडहिल र नेपाली लामा कन्स्ट्रक्सन एवम् सिमलतालबाट मुग्लिनसम्मको १२ दशमलब पाँच किलोमिटर भारतीय सुप्रिम र नेपाली रौताहा कन्स्ट्रक्सनले ठेक्का पाएर काम थालेका छन् ।

ती निर्माण कम्पनीमा रहेका मजदुरले सामान्य गाह्रो लगाउने काम गरेको भए पनि पहरा फोर्ने र मिलाउने काम हुन सकेको छैन । सडकको आँपटारीबाट मुग्लिनतर्फ १६ किलोमिटरसम्म ११ मिटर चौडा र उक्त ठाउँबाट मुग्लिनसम्म नौ मिटरको चौडा सडक हुनेछ । सडक विस्तार कार्य सम्पन्न भएपछि हाल एक घन्टा १० मिनेटमा पुगिने नारायणगढदेखि मुग्लिनसम्मको दूरी ३५ मिनेटमा पार गर्न सकिने इञ्जिनियर खनालले दाबी गर्नुभयो ।

ठाउँठाउँमा बाटो भत्किएर खाल्डाखुल्डी परेका र साँघुरो भएका कारण सो सडक पार गर्न यात्रुले निकै हैरानी व्यहोर्नु परेको छ । तराईका जिल्लाबाट काठमाडौँ र पोखरा प्रवेश र बाहिरिने मुख्य सडक भएका कारण यातायातको चाप अधिक हुने गर्दछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले गत हप्ताबाट डिभिजन सडक कार्यालयमार्फत हप्तामा तीन हजार लिटर इन्धन निर्माण आयोजनाका लागि छुट्याइएको भए पनि सो न्यून भएको बताउनुभयो ।

प्रतिक्रिया