हिउँचितुवा नियन्त्रण गर्न किसानको माग

इनेप्लिज २०७२ मंसिर १७ गते २:३६ मा प्रकाशित

snow_leopart-300x225मुस्ताङ, १७ मङ्सिर । उपल्लो मुस्ताङका किसानले हिउँचितुवाको आतङ्क बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

गत असोजमा बथानै आएको हिउँचितुवाको समूहले चराङ र कागबेनीमा गरी ११० वटाभन्दा बढी च्याङ्ग्रा मारिदिएपछि उनीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला पशुसेवा कार्यालयमा क्षतिपूर्तिसहित हिउँचितुवा नियन्त्रणको माग गरेका हुन् ।

पछिल्लो समय विभिन्न बस्तीमा देखिन थालेको र त्यसले आतङ्क सिर्जना गर्न थालेको भन्दै नियन्त्रण गर्नुपर्ने पीडित किसानको माग छ ।
जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक दयाराम चापागार्इंले हिउँचितुवाबाट स्थानीय किसान निकै समस्यामा पर्ने गरेको भन्दै चरन क्षेत्रदेखि गोठसम्म नै किसान तनावमा रहेको बताउनुभयो । “क्षतिपूर्तिका लागि हामीले मन्त्रालयमा सिफारिस गर्ने हो, हामीकहाँ आपत्कालीन कोष हुँदैन”, उहाँले भन्नुभयो – “हिउँचितुवा नियन्त्रणका लागि भने एक्यापसँग सहकार्य गरिनुपर्छ ।” एक्यापले लोपोन्मुख हिउँचितुवाको संरक्षणका लागि भन्दै चारवर्षदेखि जिल्लामा हरियाली वन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम लागू भएपछि त्यसको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले हिउँँचितुवाका लागि जङ्गलमा आहारको कमी हुँदै गएपछि मानव बस्तीतिर आउने बताउनुभयो । “जङ्गलमा नाउरको सङ्ख्या कमी हुँदै गएको छ, हिउँचितुवाको सङ्ख्या बढेको छ, उहाँले भन्नुभयो – “यसबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।”

प्रतिक्रिया