नवलपरासीमा ४२ बालबालिका एचआइभी सङ्क्रमित

इनेप्लिज २०७२ मंसिर १७ गते १:५३ मा प्रकाशित

hiv-aidsपरासी, १७ मङ्सिर । नवलपरासीमा ४२ जना एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

त्यसमा २१ बालक र २१ बालिका रहेको जिल्लामा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बिनी प्लसले जनाएको छ ।

नवलपरासीमा ४९४ जना एचआइभी सङ्क्रमितले आफ्नो पहिचान खुलाएर बाहिर आएको र त्यसमा २४३ पुरुष र २५१ महिला सङ्क्रमितको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।

समाजको व्यवहारका कारण कैयौँ सङ्क्रमित अझै खुलेर बाहिर आउन नसकेको संस्थाकी अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।

सङ्क्रमितमध्ये २५४ जनाले जिल्लाभित्र र बाहिरबाट दैनिक रुपमा आयु लम्बाउने एआरटी औषधि सेवन गरिरहेका छन् । संस्थाका अनुसार हालसम्म जिल्लामा एचआइभी सङ्क्रमितबाट ८३ जनाको ज्यान गइसकेको छ ।

एचआइभी सङ्क्रमित आमाबाट बच्चा जन्माउँदा बच्चामा एचआइभी नसरोस् भन्ने विधि पिएमटिसिटी जिल्लाको २१ वटा स्वास्थ्य संस्थाबाट र रगत परीक्षणसहितको एसिटी सेवा आठ स्थानबाट प्रदान गरिँदै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया