जनकपुर, बीरगञ्ज र बुटवलका क्षेत्रीय अस्पताललाई एनआरएनले दियो निःशुल्क औषधि

इनेप्लिज २०७२ मंसिर १६ गते १४:२५ मा प्रकाशित

काठमाण्डौ । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर, बीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई निःशुल्क जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयलाई पहिलो चरणमा करिव ३८ लाख रुपैयाँको औषधि दिएको संघले पहिलोपटक तीन महिनादेखिको आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफै पुगेर औषधि हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै अस्पताललाई करिव दुई-दुई हजार किलो औषधि हस्तान्तरण गरेको हो ।

अध्यक्ष घलेले जनकपुर बिमानस्थलमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा. नगेन्द्रप्रसाद यादव र नि. मेडिकल सुपरिटेण्डेण्ट डा. राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गर्नुभयो । औषधि ग्रहण गर्न अस्पतालका चिकित्सक र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसमेत बिमानस्थल आइपुगेका थिए ।

यसैगरी संघले आजै नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्प्तालका निमित्त मेडिकल सुपेरिटेण्डेण्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गर्नुभयो ।

यसैगरी बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि आजै संघले औषधि हस्तान्रण गरेको छ । भैरहवासमा आयोजित कार्यक्रममा संघका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. राजेन्द्र खनाललाई औषधि हस्तान्रतण गर्नुभयो ।

कार्यक्रममा संघका तर्फबाट अध्यक्ष घले, संरक्षक एवं संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु थापा उपस्थित हुनुहुन्थ्यो । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काइ ट्रक उपलब्ध गराएको थियो ।

नेपालमा आएको मानवीय विपतमा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली संघले औषधिको अभावका कारण ज्यान जाने अबस्था आउन नदिन औषधि सहयोग जारी राख्ने बताएको छ।

‘जहाँजहाँ धेरै अभाव छ, त्यहाँ हामीले नै छिटो औषधि उपलब्ध गराउने उदेश्यले अस्पताललाई नै औषधि हस्तान्तरण गरिएको हो’ अध्यक्ष घलेले भन्नुभयो-‘उहाँहरुले दिएको सूचीअनुसार नै हामीले ६ हप्ताका लागि पुग्ने गरी औषधि दिएका छौं ।’

सरकारलाई दिएको औषधि सम्बन्धित अस्पताललाई पुग्ने ढिलाई नहोस् भनेर सरकारलाई जानकारी दिएरै छिटो औषधि पुर्‍याउन खोजिएको उहाँले जानकारी दिनुभयो । भूकम्पको बेलामा जस्तै पिडीतसम्म सिधै पुग्ने योजनाअनुसार तराई क्षेत्रमा रहेका क्षेत्रीय अस्पतालहरुलाई औषधि पुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।

नाकाबन्दीका कारण उत्पन्न मानवीय संकट समाधानका लागि गैरआवासीय नेपाली संघले सहयोग गर्ने घोषणा गरेअनुरुप अहिले बिभिन्न देशमा अर्थ संकलनको कार्यक्रम भइरहेको छ भने संकटलाई अन्तराष्ट्रियकरण गरी दबाब सिर्जना गर्न बिभिन्न देशमा गैरआवासीय नेपालीहरुले प्रर्दशनहरु गरिरहेका छन् ।

रन्जु वाग्ले थापा

प्रवक्ता

गैरआवासीय नेपाली संघ

मितिः १५ मंसिर, २०७२

Press release to donate medicine to zonal hospital-page-001

प्रतिक्रिया