बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुविधाबाट वञ्चित

इनेप्लिज २०७२ मंसिर १६ गते २:२८ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १६ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीको कालीपुलसँग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुविधाबाट वञ्चित भएका छन् ।

कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुँदै बगरफाँट जोड्ने सडक कटान गरेर बगाएपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुविधाबाट वञ्चित भएका हुन् । विसं २०७२ जेठ १० गते बैँसरीमा पहिरोले १६ घन्टा थुनिएको कालीगण्डकी नदी खुल्ने क्रममा आएको बाढीले कालीपुलपारि करिब ३० मिटर सडक कटान गरेर बगाएको थियो । पहराको फेदीमा तटबन्द र पर्खाल लगाएर बनाइएको सडक कटान भएपछि सवारीसाधन आवतजावत बन्द भएको थियो ।

सडक मर्मतमा ढिलाइ हुँदा बिरामीलाई अस्पताल लैजान, विकास निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवतजावत गर्न कठिनाइ भएको बगरफाँटका बासिन्दा हिराबहादुर बरुवालले बताउनुभयो । बगरफाँटमा दुई सय पक्की घर रहेका छन् । म्याग्दी सदरमुकाम नजिकै भएकाले त्यहाँ कोठा भाडामा बस्ने विद्यार्थी, कर्मचारी र सर्वसाधारणलाई सडक अवरुद्ध हुँदा आवत जावत गर्न कठिनाइ भएको छ ।

त्यहाँका बासिन्दा जीर्ण अवस्थामा रहेको कालीपुल–बगरफाँट झोलुङ्गे पुलबाट आवत जावत गर्दै आएका छन् । यात्रुको चाप बढेकाले पुलको लठा चुँडिन थालेको छ । निर्माण र दैनिक उपभोग्य सामग्री पनि पुलबाटै ढुवानी हुने गरेको छ । बगरफाँटका साथै माझफाँट, बाँसखर्क, लेकफाँट र म्याग्दीको राम्चे गाविसका बासिन्दा सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।

स्थानीयवासीले सडक मर्मतका लागि आर्थिक सहयोग गरिदिन सम्बद्ध निकायसँग माग गरेका छन् । गत वर्ष बगरफाँटका बासिन्दाले चन्दा सङ्कलन गरेर उक्त स्थानमा सडक मर्मत गरेका थिए ।

प्रतिक्रिया