फेरि अनिश्चित भो दाङको हवाई सेवा

इनेप्लिज २०७२ मंसिर १२ गते ४:३९ मा प्रकाशित

दाङ, १२ मङ्सिर । यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य सङ्घले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौँ हवाई सेवा अनिश्चित भएको छ ।

हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य सङ्घले अबदेखि त्यसो गर्न नसकिने भने पछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको हो ।

सङ्घले तीन महिनालाई टिकट बिक्री र व्यवस्थापन समेतको जिम्मा लिएपनि पछिल्लो समय गोमा एयरले आफ्नै व्यवस्थापनमा विमान सेवा सञ्चालनका लागि कुनै चासो नदेखाएको बताइन्छ ।

उद्योग वाणिज्य सङ्घले बिक्री गर्दै आएको सात वटा टिकटको व्यवस्थापन गोमा एयरले गर्ने प्रस्तावपछि हवाई सेवा सञ्चालन अन्योलमा परेको हो । सेवा सञ्चालनका लागि उद्योग वाणिज्य सङ्घसँग समन्वय गर्न आउनुभएका कर्पोरेट अफिसर मनोज कार्कीले हवाई सेवा निरन्तरताका विषयमा अनभिज्ञता प्रकट गनुभयो ।

“अर्को भेटमा स्पष्ट गरौँला, अहिलेलाई इन्धन छैन” – पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो । जिल्लावासीले दाङ र काठमाडौँबीचको सोझो उडान मात्रै हैन हवाई भाडा पनि घट्ने अपेक्षा गरिरहेको बताउने उरहरीकी रश्मी ओलीले काखे बच्चासहितको रु १५ हजार भाडा तिरेर काठमाडौँबाट दाङ झरेको जानकारी दिइन् ।

बिहीबारको आकस्मिक उडानमा पनि अप्रत्यासित रुपमा दुई जना यात्रु दाङ झर्न भ्याए । भारत सरकारले नाकाबन्दी गरेपछि हवाई इन्धन महङ्गिएको भन्दै गोमा एयरले काठमाडौँबाट दाङ आउने प्रतियात्रु भाडादर रु ११ हजार तय गरेको छ । दाङबाट काठमाडौँ जाने भाडादर रु नौ हजार तोकिएको छ ।

कार्कीले भाडादर वृद्धि नगरे यही अवस्थामा सेवा सञ्चालन हुन नसक्ने जानकारी पनि दिनुभयो । हवाई इन्धनको मूल्य दुई गुना बढी भएको अवस्थामा हवाई सेवामा पनि भाडा वृद्धि गरिएको उहाँको तर्क थियो ।

प्रतिक्रिया