‘नाकाबन्दी अमानवीय र अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत’

इनेप्लिज २०७२ मंसिर १० गते २:२१ मा प्रकाशित

काठमाडौँ, १० मङ्सिर । चीन अध्ययन केन्द्रले भारतले लगाएको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ ।

केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुई देशबीचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारत सरकरको यस्तो नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय कानुनका मूल्यमान्यता विपरीत र दुई देशबीच हालसम्मको प्रचलन प्रतिकूल रहेको बताउँदै यस्तो क्रियाकलापको भत्र्सना गरेको छ ।

यस्तो कठिन परिस्थितिमा नेपाली जनताले देखाएको धैर्यशीलता तथा असहज एवम् सङ्कटमय परिस्थितिको सामना गर्दै राष्ट्रको स्वाभिमान र देशभक्तिको भावनालाई उच्च राख्ने नेपाल सरकारको दृढताको सराहना गर्दै केन्द्रका महासचिव डा उपेन्द्र गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाललाई आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक पर्ने सम्झौता र पूर्वाधार तयार पार्ने गरी आवश्यक व्यवस्थापन गर्न नेपाल सरकार तत्पर रहोस् भन्ने अपेक्षा राखिएको छ ।

केन्दले यस सङ्कटको परिस्थितिमा आवश्यक आपूर्तिको व्यवस्था गरी एक असल छिमेकीको हैसियतले मैत्री भाव देखाएकामा चीन तथा नेपाललाई सहानुभूति देखाउँदै सहयोग गर्न अग्रसर अन्य अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया