गृहमन्त्रीलाई तारेपछि फेरी पुनः बन्द

इनेप्लिज २०७२ मंसिर ९ गते ३:०७ मा प्रकाशित

जाजरकोट, ९ मङ्सिर । गृहमंन्त्री शक्तिबहादुर बस्नेत गृह जिल्ला जाजरकोट आउँदा सञ्चालनमा आएको फेरी पुनः बन्द भएको छ ।

छ महिनादेखि बन्द फेरी रातारात पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको थियो । यही मङ्सिर ४ गते मन्त्री बस्नेतको गाडी तरेपछि फेरी पुनः बिग्रियो भन्दै बन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् । जिप, एम्बुलेन्स लगायत साना सवारीसाधन तीन दिनसम्म फेरीबाट तारिए पनि मन्त्री फर्केसँगै पुनः बन्द भएको यातायात व्यवसायी प्रमोद शाहले बताउनुभयो । सडक डिभिजन चौरजहारीले फेरी पुनः निर्माणको काम पूर्ण रुपमा नसकिएकाले सञ्चालनमा नल्याइएको जनाएको छ ।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकमस्थित भेरी नदीमा पुल नहुँदा विकल्पका रुपमा फेरीबाट यातायातका साधन वारपार गर्ने गरिन्छ । फेरी छ महिना बन्द हुने र बिग्रिरहने गर्नाले सहज यातायात सञ्चालनमा निकै सास्ती हुने गरेको छ ।

बाह्र वर्षअघि निर्माण सुरु गरिएको मोटरेबल भेरी पुल सम्बन्धित निकायको उदासीनताले गर्दा अलपत्र परेको छ । पुल नबन्दा जाजरकोट, सुर्खेत, सल्यान, रुकुम, डोल्पा र जुम्लाका स्थानीयवासीले बर्सौैँदेखि सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया