उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात

इनेप्लिज २०७२ मंसिर ९ गते १:४३ मा प्रकाशित

मुस्ताङ, ९ मङ्सिर । उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् ।

आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो मुस्ताङका लोमान्थाङ, घमी, सुर्खाङ, छोसेर लगायत क्षेत्रमा चीनबाटै आयात गरिएका इन्धनबाट मोटरसाइकल, जिप तथा मालवाहक ट्रक सञ्चालन भइरहेका छन् । चीनको ढोङवासेन जिल्लामा पुगेर त्यहाँका डिपोबाट इन्धन लिने गरेको लोमान्थाङका व्यवसायी पासाङ गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसरी ल्याइएका इन्धन युरो–४ मापदण्डको हुन्छ । कालीगण्डकी करिडोरअन्तर्गत छोसेर गाविसमा पर्ने कोरला नाकासम्म सडक सञ्जालको पहुँच विस्तार भएका कारण उपल्लो मुस्ताङका छ गाविसमा सवारीसाधनको सङ्ख्या पनि बढ्दै गएको छ । ती क्षेत्रमा सञ्चालित अधिकांश मोटरसाइकल चीनबाट अवैध रुपमा ल्याइएका छन् । सीमा प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । त्यस्ता मोटरसाइकल कागबेनीदेखि तल सञ्चालन नहुने स्थानीयवासीले जानकारी दिएका छन् ।

जोमसोम–मुक्तिनाथ सडकखण्डमा सञ्चालन हुने दर्जनभन्दा बढी जिप पनि चीनबाट आयात गरिएका इन्धन नै प्रयोग गर्ने गरेको व्यवसायी गुरुङले जानकारी दिनुभयो । उपल्लो मुस्ताङका व्यवसायीले तल्लो क्षेत्रका व्यवसायीलाई समेत इन्धन उपहार पठाउने गरेका छन् । “लोमान्थाङबाट एक दिनमा गएर इन्धन ल्याएर आउन सकिन्छ”, व्यवसायी गुरुङले भन्नुभयो । मुस्ताङमा स्थानीय यातायात व्यवसायीले आफूलाई करिब छ महिना चाहिने इन्धन भण्डारण समेत गर्ने भएकाले जिल्लामा अहिले खासै समस्या नभएको यातायात व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया