सिन्धुपाल्चोकका फरार कैदी तामाङ र क्षेत्री पक्राउ

इनेप्लिज २०७२ मंसिर ६ गते १३:१३ मा प्रकाशित

मेलम्ची, ६ मङ्सिर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जिल्ला इचोक गाविस वडा नं ६ बस्ने दीपकबहादुर क्षेत्रीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पका कारण सिन्धुपाल्चोक जिल्ला कारागार भत्किँदा फरार रहेका क्षेत्रीलाई इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएका प्रहरी सहायक निरीक्षक जेहेन्द्रबहादुर बस्नेतको टोलीले रातको २ बजे आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्री परिवर्तित नाम सीता पाण्डेको जाहेरीले मानव बेचबिखन मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले दोषी ठ¥याई मिति २०६६ साल मङ्सिर ९ गतेदेखि कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले बताउनुभयो ।

गत मङ्सिर ४ गते नेपाल तथा भारतका विभिन्न स्थानमा हत्या, डकैती, लुटपाटलगायतका विभिन्न अपराधमा संलग्न भएका फरार अभियुक्त सिन्धुपाल्चोक जिल्ला मेलम्ची नपा—२ बतासे बस्ने राम स्याङतान भन्ने सूर्यबहादुर तामाङलाइ प्रहरीले पक्राउ गरेको थियो ।

विगत लामो समयदेखि पटक पटक पक्राउ गर्न खोजिए पनि भाग्न सफल निज तामाङ इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रवार मेलम्ची नपा वडा नं ६ स्थित तिपेनी जाने बाटोबाट समातेको हो ।

पक्राउ परेका अभियुक्तसहितका अन्य तीनजनाले मिति २०६४ साउन १४ गते राति हैवुङ गाविस—९ स्थित नुर्वु तामाङको घरमा ढिँडो बनाउन लगाई खाएर बासबसी सोही राति निजको श्रीमतीलाई नियन्त्रणमा लिई निज नुर्वु तामाङलाई खुकुरी तथा छुरा प्रहार गरी हत्या गरी मल खाडीमा फालेर घरका विभिन्न सामान लुटी फरार भएका थिए ।

सोही घटनामा संलग्न तीनजनामध्ये तत्कालै पक्राउ परेका लप्सेफेदी–३ बस्ने एक अभियुक्तलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद तोकिसकेको र पक्राउ परेका रामबहादुर तामाङको हकमा भने मुद्दा मुल्तवीमा राखिएको थियो ।

त्यसैगरी पक्राउ परेका अभियुक्तले भारतको पुणेस्थित गङ्गा भिलेज भन्ने स्थानमा २०६८ असार २० गते नेपालीमूलका सुकबहादुर तामाङको घरमा काम गर्ने महिला कामदार सञ्जु तामाङको हत्या गरी उक्त घरबाट ५७ तोला सुन र २५ हजार भारतीय रुपैयाँ लुटी फरार भएको तथा उक्त घटनामा संलग्न रहेका अन्य दुईजना हालसम्म भारतको पुणेस्थित कारागारमै रहेको बुझिएको छ ।

सशस्त्र प्रहरी बलमा पाँचवर्ष जागिर खाई भगौडा रहेका निज अभियुक्त राम स्याङतान भन्ने सूर्यबहादुर तामाङले भारतीय कोठी सञ्चालकलगायतका विभिन्न दर्जनौँ महिलासँग विवाह गरेको बुझिएको छ ।

काले, कालु, राम स्याङतान, माझी, सूर्य तामाङलगायतका विभिन्न उपनामले चिनिने निज अभियुक्त अन्य हत्या, लुटपाट तथा मानब बेचबिखनलगायतका घटनामा समेत संलग्न हुने आशङ्कामा थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया