सप्तरीमा प्रहरी र आन्दोलकारीबीच झडप, दुईजनाको मृत्यु

इनेप्लिज २०७२ मंसिर ६ गते २:२० मा प्रकाशित

सप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।

प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।

प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको झडप अहिले पनि जारी नै रहेको र अवस्था तनावग्रस्त रहेको बताइएको छ ।

यता प्रहरीले दिनहुँ राजमार्ग हुँदै सवारी साधनमा सुरक्षा दिने गरे पनि राजमार्ग क्षेत्रमा रातभरिको प्रदर्शन र झडपका कारण कुनै पनि सवारी साधन चल्न नसकेको जनाइएको छ ।

यसैबीच सप्तरी प्रशासनले आज विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रुपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया