वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण

इनेप्लिज २०७२ कार्तिक २९ गते २:०१ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २९ कात्तिक । पुरानो पदमार्ग मोटरबाटोमा परिणत भएपछि म्याग्दीमा सञ्चालन गरिएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढेको छ ।

राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत म्याग्दीको दाना–पोखरेबगर–घार–शिख–चित्रे खण्ड सडकमा परिणत भएपछि पर्यटकले वैकल्पिक रुटमा यात्रा गर्न थालेका हुन् । नारच्याङ–भुरुङ तातोपानी–पाउद्धार–खोप्रा–स्वाँत हुँदै घोरेपानी रुटमा पदयात्रीको आकर्षण बढेको हो ।

सडकमा गुड्ने सवारी साधनका कारण धुवाँ र धुलोले असर गर्ने भएकाले शान्त र प्रदूषणरहित वातावरण रुचाउने पर्यटकले वैकल्पिक पदमार्ग रोज्न थालेको खोप्रा सामुदायिक लजका लेखापाल नवीन पुनले बताउनुभयो ।

उहाँका अनुसार नारच्याङ–खोप्रा–घोरेपानी पदमार्गमा पदयात्रीको आकर्षण बढेसँगै खोप्रामा पर्यटकको चहलपहल बढेको छ । यसअघि वार्षिक पाँच सयको हाराहारीमा पर्यटक आउने खोप्रामा पछिल्लो एकै मौसममा त्योभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

समुद्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रा मनास्लु, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनौँ हिमशृङ्खला, सूर्योदय, सूर्यास्त, चरन खर्क, चौँरी र भेडा गोठको दृष्यावलोकनका लागि प्रसिद्ध छ । वैकल्पिक पदमार्गका पर्यटकका लागि खोप्रा प्रमुख गन्तव्य हो । खोप्रा भ्रमणमा आउने पर्यटकको सुविधाका लागि २४ जना क्षमताको सामुदायिक लज सञ्चालन भएको छ ।

भिरालो पहाडको टुप्पोमा अवस्थित समथर खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती एवम् पोखरा बजारलगायत थुप्रै मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यसका साथै खोप्रा क्षेत्रमा ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

शिखको बयली, कास्कीको घान्द्रुक, म्याग्दीको तातोपानी पाउद्वार र नारच्याङ हुँदै खोप्रा पुग्न सकिन्छ । वैकल्पिक रुटमा पदमार्ग निर्माण, होमस्टे र होटललगायतका पूर्वाधारको विकास गर्न आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया