भक्तपुरका सडकभरि धान

इनेप्लिज २०७२ कार्तिक २८ गते २:०७ मा प्रकाशित

भक्तपुर, २८ कात्तिक । भक्तपुर नगर क्षेत्रभित्र धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सार्वजनिक स्थल, सडक, चौर, पार्क, मन्दिर र घाटमा धान सुकाइआएका छन् ।

विशेष गरी नगर क्षेत्रमा नेवार समुदायका लागि धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सडक, पार्क र भूकम्पले क्षति नपु¥्याएका ठाउँमा धान सुकाउने गरेका हुुन् ।

विनाशकारी भूकम्पका कारण धान सुकाउने ठाउँको अभाव भएपछि पैदल मार्गका रुपमा प्रयोग हुने सडकहरुमा धान सुकाउँदा सर्वत्र धानैधान देखिएको हो ।

यसरी धान सुकाउँदा भक्तपुर घुम्न आउने पर्यटकसमेत मुग्ध हुन्छन् । भक्तपुर नगरपालिका चोछेंका राजाराम श्रेष्ठले धान सुकाउने ठाउँ नभएपछि रहरले नभई बाध्यतावस सडकदेखि मन्दिरसम्म धान सुकाउनुपरेको बताउनुभयो ।

धान सुकाउने ठाउँ अभावमा भक्तपुरका कृषकले सडक, चौर र खुल्ला क्षेत्रमा समेत आलोपालो गरेर धान सुकाउने गरेको भक्तपुर व्यासीका रामकृष्ण प्रजापतिले बताउनुभयो ।

भक्तपुरको च्याम्हसिंह, ब्यासी, जिल्ला प्रशासन कार्यालय जाने सडक, खानेपानी कार्यालय क्षेत्र, दूधपाटी जाने सडक क्षेत्र, पोखरी आसपासलगायतका सडक र खुल्ला क्षेत्रमा कृषकले सामूहिक रुपमा धान सुकाएका छन् ।

त्यस्तै, ब्रह्मायणी मन्दिरदेखि विभिन्न मन्दिर क्षेत्र, पोर्टरी स्क्वायरलगायतका पर्यटकीय क्षेत्र र भक्तपुरको हनुमानघाट क्षेत्रमा समेत सामूहिक रुपमा धान सुकाएको देखिन्छ ।

प्रतिक्रिया