तिहार शुरु, आज काग तिहार

इनेप्लिज २०७२ कार्तिक २३ गते ९:४० मा प्रकाशित

DSC02192-150x150काठमाडौ, २३ कार्तिक । पशुपंक्षी एवम् भातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार मनाउने गरिएको छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो । यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घर छेउमा आएर कराउँदा केही सन्देश ल्याएको भन्ने प्रचलन पनि रहेको छ ।

त्यस्तै कात्तिक कृष्ण चतुर्दशीका दिन भोलि कुकुर तिहार हो भने कात्तिक कृष्ण औँसीका दिन पर्सी बुधबार लक्ष्मीपूजा मनाइने छ । त्यस्तै बिहीबार गाईपूजा, गोवद्र्धन पूजा गरिन्छ भने यही दिन नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३६, र म्हः(आत्म) पूजा गर्ने गरेका छन् । तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाएपछि तिहारको समापन हुन्छ । कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया