विद्यालयमा छात्रामैत्री शौचालय निर्माण

इनेप्लिज २०७२ कार्तिक १९ गते ६:४० मा प्रकाशित

girls-toiletकञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ८ बेलडाँडीस्थित सिद्धनाथ निम्न माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत छात्रालाई लक्षित गरी रु दुई लाख ५० हजारको लागतमा शौचालय निर्माण गरिएको हो ।

शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्रालाई प्याड फाल्नका लागि इन्सुलेटर अलग्गै रुपमा निर्माण गरिएको र बाहिरबाट आगो लगाएर फालिएका प्याडलाई जलाउन मिल्ने गरी शौचालय निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले बताउनुभयो ।

विद्यालयमा छात्र र छात्राको शौचालय एउटै हुँदा छात्राले कठिनाइको सामना गर्नुपरेको थियो । उहाँले भन्नुभयो – “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राको सहज रुपमा शौचालयको प्रयोगमा पहँुच पुगेको छ ।”

छात्रामैत्री शौचालय नहुँदा विगतमा छात्राले रजस्वला हुँदा घरमै बस्दै आएको उल्लेख गर्दै विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भन्नुभयो –“अलग्गै छात्राका लागि शौचालय निर्माणले छात्रा नियमित रुपमा विद्यालयमा आउन थालेका छन् ।”

विद्यालयमा अध्ययनरत २४० छात्रछात्रामध्ये छात्राको सङ्ख्या ११४ रहेको छ । यसैगरी जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका अन्य नौ विद्यालयमा रु २२ लाख ५० हजारको लागतमा छात्रामैत्री शौचालय निर्माण गरिएको जनाएको छ ।

बाल अनाथालयलाई १९ हजार बराबरको सहयोग

कञ्चनपुरको झलारीका जागरुक युवाको संस्था गुडल इभेन्ट मेनेजमेन्टले महेन्द्रनगरमा रहेको महाकाली बाल अनाथालयलाई रु १९ हजार बराबरको सहयोग रकम उपलब्ध गराएको छ ।

कात्तिक २ गते झलारी बजारको खुला मञ्चमा अनाथालयमा रहेका बालबालिकाको सहयोगार्थ सञ्चालन भएको दसैँ विशेष साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकमको १० प्रतिशत बुधबार अनाथालयलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष ललितबहादुर ऐरले बताउनुभयो ।

“साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रु ११ हजार र दानपेटिकामा जम्मा भएको करिब रु आठ हजार अनाथालयलाई उपलब्ध गराएका छौँ” – उहाँले भन्नुभयो ।

सो रकमबाट अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न र शिक्षाका क्षेत्रमा खर्च गरिने बताइएको छ । अनाथालयमा तीन दर्जनभन्दा बढी बालबालिका आश्रित रहेका छन् ।

प्रतिक्रिया