काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्तिमा कमी

इनेप्लिज २०७२ कार्तिक १५ गते ६:३९ मा प्रकाशित

1काठमाडौँ, १५ कात्तिक । काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्तिमा कमी भएको छ ।

उपत्यकामा तेल र ग्यासको लाइन र राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत उच्च व्यक्तिको सवारीका क्रममा समेत ट्राफिक व्यवस्था मिलाउन पर्ने भएकाले धेरै जनशक्ति खर्चनुपर्दा समस्या परेको ट्राफि¬¬क प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक विशिष्ट व्यक्तिको सवारीका लागि आवश्यकताअनुसार दुई सयदेखि पाँचसय जनशक्ति खटाउनुपर्ने हुन्छ ।”

उपत्यकामा आठ लाख पचास हजारभन्दा बढी सवारी साधन रहेको र त्यसको व्यवस्थापनका लागि ९६५ दरबन्दी रहेको छ । जनशक्ति अभावका कारण तालिम लिन आएकालाई समेत काममा खटाउने गरिएको महाशाखाले जनाएको छ । “तालिम लिन आएका समेतलाई काममा लगाउँदा एक हजार दुई सय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुपरेको छ” प्रवक्ता पोखरेलले भन्नुभयो ।

उपत्यकामा सामान्य अवस्थामा एक हजार छ सयदेखि दुई हजारसम्म ट्राफिक प्रहरी चाहिने र चापको अवस्थामा तीन हजारसम्म चाहिने महाशाखाले जनाएको छ । हाल उपत्यकामा एक ट्राफिक प्रहरीले १२ देखि १६ घन्टासम्म काम गरिरहेका छन् । उपत्यकामा हाल महाशाखासहित ३५ ट्राफिक प्रहरी वृत्तले ट्राफिक व्यवस्थापन गरिरहेका छन् ।
उपत्यकाका प्रमुख चोकमा आवश्यक मात्रामा बत्ती नहुँदा र पूर्वाधारको अभाव भएकाले ट्राफिक जनशक्ति धेरै चाहिने भएको समेत महाशाखाले जनाएको छ ।

प्रतिक्रिया