एलपी ग्यासको बिकल्पमा बायोग्यास

इनेप्लिज २०७२ कार्तिक ९ गते ३:५९ मा प्रकाशित

biogasरत्ननगर (चितवन), ९ कात्तिक । चितवनको कुमरोज क्षेत्रमा अहिले एलपी ग्यासको अभाव महसुस भएको छैन ।

दुई वर्षअघि साविक कुमरोज गाविसलाई नै नेपालमै पहिलो बायोग्यास भिलेज घोषणा गरेपछि अहिले एलपी ग्यासको अभाव गाउँलेले महसुस गरेका छैनन् । “बिहान बेलुका बायोग्यासले नै खाना पाक्छ, स्थानीयवासी ईश्वरी पाठकले भन्नुभयो, किन खोज्नुप¥यो र एलपी ग्यास ।”

तत्कालीन समयमा यहाँ एक हजार ३०० बढी घरधुरीमा बायोग्यास जोडेपछि नमुना गोबरग्यास गाउँ (बायोग्याँस भिलेज) घोषणा गरिएको थियो । करिब ८० प्रतिशत घरमा गोबरग्यास जोडेपछि यस्तो घोषणा गरिएको थियो ।

यहाँ अहिले एक हजार ५०० बढी घरमा गोबरग्यास जडान भएको छ । एक हजार ७०० घरधुरी सो गाउँमा छ । हालको खैरहनी नगरपालिकामा गाभिएको कुमरोजमा यो वर्ष ३० भन्दा बढी घरमा जोड्ने कार्यक्रम रहेको पाठक बताउनुहुन्छ ।

स्थानीय क्षेत्रमा संरक्षणमा क्रियाशील पाठकले अघिल्लो वर्ष पनि एक सयभन्दा बढी बायोग्यास जडान भएको बताउनुभयो ।

बायोग्यासले जङ्गलमा दाउरा काट्ने क्रम रोकिएको छ भने एलपी ग्यासको अभाव खेप्नु नपरेको स्थानीयवासी अजित चौधरीले बताउनुभयो ।

उहाँको घरमा बायोग्यास जोडेको पाँच वर्ष भयो । अहिलेसम्म सिलिन्डर ग्यास जोड्नुपरेको छैन । “साह्रै सुविधा छ, कुनै चिन्ता छैन”, उहाँले भन्नुभयो ।

प्रकृति संरक्षण कोष, स्थानीय बूढीराप्ती उपभोक्ता समिति र ताल कार्यक्रमको सहयोगमा सामान्य स्थानीयवासीको लागतमा यहाँका गाउँलेलाई बायोग्यास जडान गराइएको थियो ।

वन र वन्यजन्तु संरक्षणका लागि सुरु भएको यो अभियान संरक्षणमा प्रभावकारी भएसँगै अहिले ग्यास अभावमा समेत सहयोगी भएको स्थानीयवासी भगवती उप्रेती बताउनुहुन्छ ।

हरेक घरमा गाईबस्तु भएकाले अब जङ्गलको संरक्षण र गोबरग्यास टिकाइ राख्न निश्चित क्षेत्रलाई चरिचरन क्षेत्र बनाउनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् ।

सबै जङ्गल चरिचरन बन्द गर्दा बस्तुभाउका लागि असर पर्ने अजित महतो बताउनुहुन्छ । सहरबजारका सेफ्टी ट्याँङ्कीबाट बायोग्यास निकाल्ने हो भने प्रभावकारी हुने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया