दसैँमा नियम उल्लङ्घन गर्ने २२ माथि कारबाही

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:२१ मा प्रकाशित

रत्ननगर (चितवन), ५ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले आज सवारी नियम उल्लङ्घन गर्ने २२ जना चालकलाई कारबाही गरेको छ ।

रातिदेखि आज बिहान गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरी कुल रु १३ हजार २०० राजस्व सङ्कलन गरेको प्रहरी हवल्दार निरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । कारबाहीमा एकजना मापसे गर्नेसमेत परेका छन् ।

सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल रहेका छन् । त्यसपछि ट्रकले नियम उल्लङ्घन गरेको भेटिएको उहाँले बताउनुभयो ।

चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ । जिल्लामा इन्धन अभावले सवारी गुड्ने क्रम न्यून भएपनि सवारी नियम उल्लङ्घन गरेर गाडी चलाउने क्रम भने रोकिएको छैन ।

मोटरसाइकल चालकले हेल्मेट नलगाउने, चालक अनुमतिपत्र नबोक्ने, नवीकरण नगर्ने, तीन जना चढेर हिँड्नेहरु कारबाहीमा परेका छन् । प्रहरीले सवारी कारबाही तीव्र पारेकाले गएको वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो ।

प्रहरीले गएको वर्ष कुल रु दुई करोड ४९ लाख ९१ हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया