ऐतिहासिक गुम्बा पुनःनिर्माण गर्न स्थानीय सक्रिय

इनेप्लिज २०७२ कार्तिक २ गते २:२६ मा प्रकाशित

ilam_nepal_mapइलाम, २ कात्तिक । निर्माण क्रममा रोकिएको गोर्खे–९ मानेभञ्ज्याङस्थित ऐतिहासिक लहनडुप होसल द्धिछोलिङ गुम्बाको पुनःनिर्माण गर्न स्थानीय बासिन्दा सक्रियताका साथ जुटेका छन् ।

डेढ शताब्दी पुरानो यो गुम्बालाई एक दशकअघि नया“ निर्माणका लागि भत्काइएको थियो । आकर्षक ढङ्ले गुम्बाको निर्माण थालिए पनि विविध कारणले गुम्बा निर्माण कार्य रोकिएकाले स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण थालिएको स्थानीय सुरेन गुरुङ बताउनुहुन्छ । “उतिबेला नया“ गुम्बा बनाउन थालिएपछि स्थानीयवासीस“गै विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भयो” उहाँले भन्नुभयो – “तर निर्माण कार्य अधूरै रहेपछि पुराना मूर्ति थन्किए, अनि ऐतिहासिक गुम्बाको अस्तित्व नै मेटिँदै गयो ।” भारतीय सीमावर्ती व्यापारिक र पर्यटकीय नाकाका रूपमा रहेको यो स्थानमा गुम्बाको महत्व थप खड्किएकाले स्थानीयवासी सक्रिय भएका हुन् ।

गुम्बा क्षेत्रमा बौद्ध परम्पराअनुसार पूजाआजा गरेर पुनःनिर्माण थालिएको हो । गुम्बा निर्माण पूरा गर्न सभासद् लीलादेवी श्रेष्ठ, विनोद ठकुरीलगायतले सहयोग गर्ने बचन दिएको स्थानीयवासीको भनाइ छ । नेपाल–भारत सीमामा रहेको यो गुम्बा सन् १८६४ मा निर्माण भएको स्थानीयवासी सोनामवाङ्दी शेर्पाले बताउनुभयो ।

गुम्बालाई आकर्षक ढङ्गले निर्माण गरेर श्रद्धालु र टाढाबाट आउने पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनाउने स्थानीयवासीको योजना छ ।

जेठो पुस्तकालय एक वर्षदेखि बन्द

जिल्लाकै जेठो पुस्तकालयका रूपमा स्थापित ‘मदन–आश्रित पुस्तकालय’ उचित संरक्षण र व्यवस्थापन नहुँदा एक वर्षदेखि बन्द छ ।

बारम्बार ठाउँ सार्ने क्रममा माईस्थान मन्दिरको एउटा कोठामा रहेको यो पुस्तकालय सञ्चालन गर्ने जिम्मेवारी पाएको इलाम नगरपालिकाले व्यवस्थापनमा उचित ध्यान नदिँदा पुस्तकालय बन्द भएको हो ।

विसं २००८ मा तत्कालीन प्रगतिशील छात्र सङ्घले जनता पुस्तकालयको नाममा स्थापना गरेको यो पुस्तकालयलाई केही समयपछि मदन–आश्रित पुस्तकालय नामाकरण गरिएको थियो ।

नगरपालिकाले कसैलाई थाहै नदिई नगरका विभिन्न स्थानमा सारेपछि पाठक यसबाट बेखबर बनेका थिए । मन्दिरको एउटा पुरानो कोठामा ल्याएर राखिएको पुस्तकालय सञ्चालनका लागि बजेट अभाव भएको जनाउँदै बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनुभयो ।

पाँच हजार ८९९ थान पुस्तक रहेको यो पुस्तकालयमा एकजना लाइब्रेरियन नियुक्ति गरिएको थियो । लाइब्रेरियन टेकबहादुर खड्काको अवकाश भएसँगै पुस्तकालयमा कर्मचारी खटाउन नसकेको नगरपालिकाले जनाएको छ ।
हाल इलाम उद्योग वाणिज्य सङ्घमा अमेरिकन दूतावासको सहयोगमा ई–लाइब्रेरी स्थापना भएको छ । धेरै पाठक अहिले कम्प्युटर प्रविधितर्फ उन्मुख भएकाले वाणिज्य सङ्घमा गएर ई–लाइब्रेरीमा पढ्छन् ।

त्यहाँ अध्ययन गर्नका लागि विश्वका उत्कृष्ट लेखकको पुस्तक र पाठकको रुचिअनुसारको राखिएको छ । पाठकले चाहेजस्तो र समसामयिक विषयका पुस्तक ल्याउन नसक्दा जिल्लाकै जेठो पुस्तकालय अलपत्र बनेको पाठकहरु बताउँछन् ।
पुस्तकालय सञ्चालन गर्ने जिम्मा लिएको नगरपालिका कार्यालयले नयाँ पुस्तक थपेर पाठक आकर्षित गर्नुपर्नेमा उल्टै पुस्तकालय नै बन्द गरेर पाठकलाई चिन्तित बनाएको नियमित पाठकका रूपमा चिनिनुभएका होमबहादुर ढुङ्गानाले गुनासो गर्नुभयो ।

प्रतिक्रिया