तातोपानी कुण्डमा पर्यटकको चहलपहल

इनेप्लिज २०७२ कार्तिक २ गते २:२४ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २ कात्तिक । म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ ।

अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताउनुभयो ।

कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् ।

कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् ।

उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि रु १० लाखभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।

प्रतिक्रिया