उदयपुरमा पाँच दिनदेखि हराएकी राई मृत फेला

इनेप्लिज २०७२ कार्तिक १ गते १५:२४ मा प्रकाशित

गाईघाट (उदयपुर), १ कात्तिक । चार दिनअघिदेखि बेपत्ता भएकी उदयपुर जिल्लाको बलाम्ता गाविस–३ स्थायी घर भई त्रियुगा नगरपालिका–२ गाईघाट बस्दै आएकी एक युवती आज त्रिनपा–१ स्थित चप्पन जङ्गलमा मृत फेला परेकी छिन् ।

यसरी चार दिनअघि हराएर मृत फेला परेकी युवती वर्ष २४ की प्रभा राई रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । असोज २७ गतेदेखि नै गाईघाटको घरबाट राई बेपत्ता भएपछि मृतकका बुबा मोहनसेर राईले प्रहरीमा जाहेरीसमेत दिनुभएको थियो ।

राईको खोजी गर्नेक्रम जारी रहेका बेला आज त्रियुगा नगरपालिका–१ स्थित चप्पनको जङ्गलमा स्थानीय भवानी दल गणका सेनाले तालिम गर्ने क्रममा उक्त शव भेटेको प्रहरीले बताएको छ ।

सेनाले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले आफन्तलाई खबर गरेर अनुसन्धान गर्दा उक्त शव चार दिनअघि हराएकी राईको नै भएको पुष्टि हुनआएको कुरा जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

दिनको १२ बजे उक्त शव जङ्गलमा भेटेपछि उक्त शवको छेउमा केही विषादी पदार्थ जस्तो वस्तु पनि भेटिएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभयो ।

प्रहरीले राईको शव परीक्षणपछि अहिले आफन्तलाई जिम्मा लगाएको बताएको छ ।

उक्त युवती के कारणले सो जङ्गलमा गएकी हुन् वा आत्महत्या हो की हत्या हो भन्ने कुराको अनुसन्धान सुरु गरेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया