बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

इनेप्लिज २०७२ कार्तिक १ गते १४:२४ मा प्रकाशित

चितवन, १ कात्तिक । उपचारका क्रममा एक वृद्धाको मृत्यु भएपछि आक्रोसित समूहले भरतपुरको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा आज तोडफोड गरेको छ ।

तोडफोडबाट अस्पतालको टिकट काउन्टरको सिसा र फार्मेसीको सिसा फुटेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार दिन अगाडि मिर्गाैलामा समस्या देखिएर भरतपुर उपमहानगरपालिका–१० निवासी ८६ वर्षीया चन्द्रकला सापकोटालाई अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा सापकोटाको आज दिउँसो मृत्यु भएपछि आफन्तसहितको आक्रोसित भीडले अस्पतालमा तोडफोड गरेको हो ।

अस्पताल तोडफोड गरेको भन्दै प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । आफन्तले शव उठाउन मानेका छैनन् ।

अस्पतालका प्रबन्ध निर्देशक पुष्पराज शर्मा धितालले अस्पतालको कमजोरी नभई हृदयघातका कारण बिरामीको मृत्यु भएको बताउनुभयो ।

प्रतिक्रिया