दमक–रवि सडक सञ्चालनमा

इनेप्लिज २०७२ असोज ३० गते २:५६ मा प्रकाशित

दमक, ३० असोज । वर्षा लागेपछि साढे तीन महिनादेखि अवरुद्ध रहेको दमक–चिसापानी रवि (फाल्गुनन्द) सडक सञ्चालनमा आएको छ । शुक्रबारदेखि सो सडकमा सवारीसाधन गुड्न थालेका छन् ।

गत जेठको अन्तिम साता रतुवा खोलामा बाढी आएपछि यातायात अवरुद्ध भएको थियो ।

दमक–चिसापानी रवि सडक निर्माण उपभोक्ता समितिको पहलमा ट्र्याक खोलिएपछि यातायात सञ्चालनमा आएको हो । समितिका महासचिव हेमन्त राईले दमकको बेलडाँगीदेखि पाँचथरको रविसम्मको ४३ किलोमिटर लामो सडकमा पर्ने रतुवा खोलाको क्षेत्रमा वर्षाको भेलले ल्याएको अवरोध हटाएपछि यातायात चालु गरिएको बताउनुभयो । सो सडकमा अब हिउँदका करिब आठ महिना सवारी चालु रहने महासचिव राई बताउनुहुन्छ ।

सो समयमा पाँचथर र इलामका पश्चिमी क्षेत्रका गाविसमा औषधि, लत्ताकपडा, खाद्यान्नजस्ता अत्यावश्यक वस्तु यही सडकबाट आपूर्ति गर्ने गरिन्छ ।

सो सडकले इलाम र पाँचथरका तेह्र गाविसलाई झापाको दमकमा पूर्वपश्चिम राजमार्गसँग जोड्छ । यसै वर्ष सो सडकलाई बाह्रैमास चल्ने सडक बनाउन सरकारको प्राथमिकता ‘ए’ मा पारिएको छ ।

प्रतिक्रिया