चाडबाड सुरु भएपनि इन्धनको समस्या यथावत्, समस्या समाधानका लागि पहल जारी

इनेप्लिज २०७२ असोज २९ गते १०:५० मा प्रकाशित

petrolकाठमाडौँ, २९ असोज । दसैँ र तिहार नजिकिए पनि आफ्ना गन्तव्यमा जान खोज्नेका लागि यसपटक त्यति सहज अवस्था रहेन ।

भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि चाडबाडको समयमा सहज आवागमन नहुने अवस्था सिर्जना भएको हो ।

नेपाल आयल निगमले इन्धनको सहज आपूर्ति गराउने भन्दै आएको लामो समय भएपनि अहिलेसम्म सहज आपूर्ति हुन सकेको छैन ।

अघोषित नाकाबन्दी सुरु भएको २२ दिन बितेपनि कूटनीतिक पहल हुन नसक्दा चाडबाडको समयमा उपभोक्ताले हैरानी खेप्नु परेको हो ।

भारतबाट सीमित मात्रामा आएको पेट्रोलियम पदार्थ ‘हात्तीको मुखमा जिरा’ जस्तै भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी पेट्रोल पम्पका अगाडि हजारौँको सङ्ख्यामा सवारी साधन इन्धनको खोजीमा लाम लागेका छन् ।

चाडबाडलाई भन्दै निगमले केही दिन पहिले कुल सात लाख पचास हजार लिटर इन्धन वितरण गरेपनि त्यसले समस्याको समाधान गरेको छैन । इन्धनको आशामा पेट्रोल पम्प अगाडि लाइन लागेका सवारी साधनले चाडबाडमा सहजरुपमा इन्धन पाउने अवस्था क्रमशः सकिएको छ ।

निगमले एक पटक इन्धन वितरण गर्ने जनाएपनि इन्धनको प्रतिक्षामा रहेका उपभोक्ता पुनः लाम मात्रै बसेर फर्कनु नपर्ला भन्ने विश्वास गर्न गाह्रो छ । इन्धनसँगै खाना पकाउने एलपी ग्यासको अभाव पनि उस्तै रहेको छ ।

दिनप्रतिदिन उपभोक्ताले पीडामाथि पीडा भोग्दै जाँदा निगमले भने समस्या समाधान कसरी गर्ने भन्नेमा अहिलेसम्म प्रष्ट अवधारणा ल्याउन सकेको छैन ।

निगमकाअनुसार दैनिक ३५० ट्याङ्कर इन्धन दैनिक आयात भएको अवस्थामा मात्र बजार सहज हुन सक्छ, तर एकाध ट्याङ्कर आएको भरमा आयात भयो र वातावरण सहज हुन्छ भन्नु पनि गलत हुन्छ । निगमले आज काठमाडौँ उपत्यकाका आठ वटा पेट्रोल पम्पलाई कुल तीस हजार लिटर पेट्रोल उपलब्ध गराएको छ ।

यस्तै काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लाका ८३ वटा पम्पलाई कुल तीन लाख ७१ हजार लिटर डिजल उपलब्ध गराएको छ । मागअनुसारको आपूर्ति हुन नसक्दा निगमले उपलब्ध गराउने इन्धन वितरणमा समेत समस्या पैदा भएको छ ।

लामा लाइनको व्यवस्थापन गरेर सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन पम्पहरुलाई समेत समस्या भएको छ । यद्यपि निगमले भने वीरगन्ज नाका नखुल्दासम्म सहजरुपमा पेट्रोलियम पदार्थ आयात हुने सम्भावना कम रहेको जनाएको छ ।

अन्य नाकाबाट आयात हुने परिमाण दश प्रतिशत मात्रै रहेको र वीरगन्ज नाकाबाट आयात हुने परिमाण ९० प्रतिशत भएकाले सोही नाका नै खुल्नुपर्छ ।

निगमले बिहीबार विभिन्न नाकाबाट कुल १९५ वटा ट्याङकर भारत गएकामा ७७ वटा ट्याङ्करमा इन्धन लोड भएको र ४६ वटा ट्याङ्करको मात्रै भन्सार जाँच भएको जनाएको छ । आज दुई सयभन्दा बढी ट्याङ्कर भारत गएपनि कति ट्याङ्करमा इन्धन लोड हुन्छ भन्ने बारेमा राति अबेर मात्रै थाहा हुने निगमको भनाइ छ ।

निगमका प्रवक्ता दीपक बरालले इन्धन आपूर्तिलाई सहज बनाउन पहल भइरहेको जानकारी दिनुभयो । आयात सहज बनाउने उद्देश्यका साथ निगमले निर्देशक मुकुन्दप्रसाद घिमिरेलाई इन्डियन आयल कर्पोरेसनसँग छलफल गर्न भारत पठाएको छ ।

भारतमा आयात सहज बनाउने विषयमा भेटघाट जारी रहेको र आधिकारिक पत्रसमेत पठाइसकिएकाले आपूर्ति सहज हुने विश्वास निगमले लिएको प्रवक्ता बरालको भनाइ छ ।

सरकारले पारवहनलगायतका समस्या समाधान गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापालाई शनिबार भारत पठाउन लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

चाडबाड सुरु भएको र तराई मधेसमा आन्दोलनरत दलले पनि आन्दोलनलाई सामान्य बनाउँदै लगेकाले इन्धन आयात सहज हुने विश्वास सरकारले लिएको छ ।

प्रतिक्रिया