पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना

इनेप्लिज २०७२ असोज २९ गते १:३१ मा प्रकाशित

कञ्चनपुर, २९ असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना गरेको छ ।

दसैँका अवसरमा भारतबाट घर फर्कने यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न नागरिक हेल्प डेस्क स्थापना गरिएको हो ।

भारतीय क्षेत्र भएर आउने र भारततर्फ जाने यात्रुलाई यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सीमा क्षेत्रमा हुने लुटपाटका घटना न्यूनीकरण गर्न र ताँगा रिक्सा चालकले बढी भाडा लिने कार्य नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बाबुकाजी गिरीले बताउनुभयो ।

हेल्प डेस्कमा प्रहरी निरीक्षकको संयोजकत्वमा छ सदस्यीय टोलीलाई खटाएको छ ।

यसैगरी ट्राफिक प्रहरीले महेन्द्रनगर बस पार्कमा यात्रुलाई यात्रा गर्दा जोखिममुक्त यात्रा गर्न सचेतना फैलाउने कार्य सुरु गरेको छ ।

“यात्रुलाई बसको छतमा राख्ने, एउटै सिटमा दुईजनालाई टिकट दिने र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई नियन्त्रण गरेका छौँ” – ट्राफिक प्रहरी रामदत्त बडूले भन्नुभयो ।

प्रतिक्रिया