जीवजन्तु संरक्षणमा सामुदायिक वन

इनेप्लिज २०७२ असोज २८ गते ३:०५ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २८ असोज । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेष गरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई आफ्नो समूहद्वारा संरक्षित वन क्षेत्रमा सुरक्षा दिएर विद्यार्थीका लागि अध्ययनका विषय बनाइदिएको छ । सो विषयमा समूहका अध्यक्ष कृष्णबहादुर घिमिरेले जानकारी दिँदै जङ्गलमा पूरै बारको घेरा लगाएर जनावर पक्षीको संरक्षण गरिएको बताउनुभयो ।

अध्यक्ष घिमिरेले भन्नुभयो – “जनावरले आपूm तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।”

गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका बगरफाँट र भूमेनाथ सामुदायिक वनले मयुर, न्याउली, तित्रो, वन ढुकुर, मृगलगायतका जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर स–साना चिडियाखानाका रूपमा संरक्षित वन क्षेत्रलाई विकास गराउने प्रयत्न गर्दै आएको छ ।

 

प्रतिक्रिया