अपाङ्गता भएका बालबालिकाको लागि घरदैलो अभियान

इनेप्लिज २०७२ असोज २८ गते २:४९ मा प्रकाशित

apangaकञ्चनपुर, २८ असोज । अपाङ्गता भएका बालबालिकाको विद्यालयमा पहुँच पुर्‍याउन कञ्चनपुरमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।

सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्मको पहुँच पु¥याउनका लागि घरदैलो अभियानअन्तर्गत सचेतामूलक कार्यक्रम, तथ्याङ्क सङ्कलन र अभिभावकसँग भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो ।

अधिकांश सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई अभिभावकले विद्यालय भर्ना गर्न नरुचाउने रहेका छन् ।

विद्यालय भर्ना गरिएका बालबालिकासमेत हीनता बोधका कारण निरन्तर विद्यालय नआउने गरेको झलारीको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुदेवी बोहराले बताउनुभयो ।

अभिभावकको आर्थिक अवस्था कमजोर र अशिक्षित हुनेजस्ता कारणले सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म नपु¥याउने गरेको पाएका छौँ उहाँले भन्नुभयो – “विद्यालयमा कुनै किसिमको विभेद नहुने भएकाले विद्यालय बाहिर रहेका सुस्त मनस्थिति र अपाङ्गता भएका पाँच बालबालिकालाई विद्यालय भर्ना गर्ने तयारीमा छौँ ।”

झलारी पिपलाडी नगरपालिका क्षेत्रमा मात्रै सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकाको सङ्ख्या तीन दर्जनभन्दा बढी रहेको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गत साउन महिनादेखि विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने जिम्मा विद्यालयलाई दिएको छ ।

चालु शैक्षिकसत्रमा विद्यालय भर्ना भएका एक लाख ५५ हजार बालबालिकामध्ये छ प्रतिशत अर्थात् छ हजार बालबालिका विद्यालय बाहिर रहेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार जसमध्ये सुस्त मनस्थिति र अपाङ्गता बालबालिकाको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको छ ।

“तथ्याङ्क सङ्कलनपछि विद्यालय बाहिर रहेका सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनका लागि विशेष कार्यक्रम ल्याउँदै छौँ” – उहाँले भन्नुभयो ।

प्रतिक्रिया