तीन वर्षमा सरकारी कार्यालयमा ६० प्रतिशत सुधार

इनेप्लिज २०७२ असोज २८ गते २:१० मा प्रकाशित

ilam_nepal_mapइलाम, २८ असोज । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आर्थिक सहयोग र महिला जागरण सङ्घको साझेदारीमा तीन वर्षदेखि जिल्लामा सञ्चालित एलाक डिपी कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।

साझेदारी वृद्धि तथा सरोकारवालाबीच बुधबार सम्पन्न अन्तक्र्रियामा जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा गरिएको एलाक डिपी प्रभावकारी बन्दै गएको सरोकारवालाले बताएका छन् ।

नागरिकको भीडभाड हुने नेपाल विद्युत् प्राधिकरण, मालपोत, इलाम नगरपालिका, जिविस, जिल्ला अस्पतालमा गरिएको सर्वेक्षणअनुसार विगतको तुलनामा सुधार आएको महिला जागरण सङ्घले जनाएको छ ।

तीन वर्षदेखि जिल्लामा सञ्चालित यो कार्यक्रमबाट सेवाग्राहीले राहतको महसुस गरेको, कार्यालयमा विगतको तुलनामा केही सुधार भएकाले सुशासन कायम गर्नमा सहयोग मिलेको सङ्घका कार्यक्रम निर्देशक योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

एलाक डिपी कार्यक्रम लागू भएपछि हालसम्ममा ४० वटा सरकारी कार्यालयको अनुगमन, १३ वटा सेवा प्रदायक तथा सेवाग्राहीसँग अन्तक्र्रिया, १० वटा स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको र स्थानीयस्तरका एफएमबाट निरन्तर भ्रष्टाचार निवारणसम्बन्धी सन्देशमूलक जानकारी प्रसारण गरिरहेको सङ्घले जनाएको छ ।

कार्यालयमा गरिएको अनुगमन र निरन्तर छलफल तथा अन्तक्र्रियाबाट सरकारी कार्यालय ६० प्रतिशत सुधारतर्फ लागेको एलाक डिपीकी आस्था पौडेलले बताउनुभयो ।

नेपाली काँग्रेसका होम दुलालले समाजलाई एकैपटक भ्रष्टाचार मुक्त बनाउन नसकिए पनि विस्तारै सुधारतर्फ लागिरहेको बताउनुभयो ।

कायममुकायम प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सरकारी कार्यालयमा धेरै सुधारका काम भएको र कार्यालयमा गुनासो सुन्ने र सूचना अधिकारी तोकिएकाले सेवाग्राहीका गुनासा त्यहीबाट सम्बोधन हुने र नभएमा मात्र आफूकहाँ आउने बताउनुभयो । “सरकारी कार्यालयमात्र सुध्रिएर हुँदैन, जनतालाई सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी संस्था, व्यक्तिले पनि पारदर्शीता, जवाफदेहीता पालना गर्नुपर्छ, उहाँले भन्नुभयो – “तबमात्र हाम्रो समाज सुशासनको पथमा अघि बढ्छ ।”

कार्यक्रममा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडा, जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डे, जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले विगतको तुलनामा सरकारी कार्यालयमा सुधार हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया