रविनलाई पोषण पत्रकारिता पुरस्कार प्रदान

इनेप्लिज २०७२ असोज २८ गते १:५४ मा प्रकाशित

12122944_1077697185607677_1669187732381118984_nताप्लेजुङ, २८ असोज । ताप्लेजुङका पत्रकार रविन भट्टराईलाई यस वर्षको पोषण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हिजो यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य र पोषणको क्षेत्रमा उत्कृष्ट कलम चलाएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

देशभरका ४१ वटा जिल्लामा पोषण र स्वास्थ्यसम्बन्धी काम गरिरहेको सुआहारा कार्यक्रमले स्वास्थ्य र पोषण क्षेत्रमा उत्कृष्ट कलम चलाउने एक सञ्चारकर्मीलाई प्रत्येक वर्ष प्रदान गर्दै आएको पोषण पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार भट्टराईलाई प्रदान गरेको हो ।

निमित्त स्थानीय विकास अधिकारी दुर्गाप्रसाद श्रेष्ठले पत्रकार भट्टराईलाई दोसल्ला ओडाएर पुरस्कार प्रदान गर्नुभयो ।

सम्मानपछि भट्टराईले सम्मानबाट आफूलाई स्वास्थ्य र पोषण क्षेत्रको समाचार लेखन तथा पत्रकारिता क्षेत्रमा क्रियाशील रहन थप प्रेरणा मिलेको र आगामी दिनमा अझै क्रियाशील भएर पत्रकारिता क्षेत्रमा लाग्ने बताउनुभयो ।

सञ्चारकर्मी भट्टराई यसअघि उत्कृष्ट वर्ष खेल पत्रकारिता पुरस्कार र टीकाराम गौतम पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

विगत आठ वर्षदेखि पत्रकारितामा क्रियाशील भट्टराई इमेज टेलिभिजन, नेपाल समाचारपत्रलगायत सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया