विकास निर्माणमा सामुदायिक वन

इनेप्लिज २०७२ असोज २४ गते ४:३३ मा प्रकाशित

मोरङ (पथरी), २४ असोज । मोरङको दुर्गम गाविस जाँतेका बासिन्दाले सामुदायिक वनको सहभागितामा विद्यालय, बाटाघाटा निर्माण र गाउँमा बिजुलीसमेत ल्याउन सफल भएका छन् ।

सामुदायिक वनको माध्यमबाट गाउँको विकास हुन सक्छ भन्ने थाहा पाएका स्थानीयवासीले सामुदायिक वनबाट हुने आम्दानीको निश्चित प्रतिशत विकास निर्माणमा खर्चिएकाले गाउँका टोल–टोलमा ग्राभेल विद्युत् सडक पु¥याएका हुन् ।

स्थानीय ठाउँमै दुईवटासम्म उच्च माध्यमिक विद्यालय सञ्चालन गरेका छन्, सामुदायिक वनकै मुख्य लगानीमा गाउँमा विद्युत पु¥याएका छन् । उक्त गाविसमा कुल १५ वटा सामुदायिक वन समूह छन् ।

इलाका वन कार्यालय जाँतेका सहायक वन अधिकृत नारायण यादव वन उपभोक्ता समितिहरूले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुहुन्छ । उहाँले सामुदायिक वनकै कारण आज जाँते गाविसको मुहार फेरिएको बताउनुभयो ।

विसं २०५६ मा गठन भएको सदाबहार सामुदायिक वन उपभोक्ता समिति जाँते–८ ले स्थानीयवासीको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी जितबहादुर माझीको भनाइ छ ।

वन समूहका अध्यक्ष विष्णु पौडेलका अनुसार सबै वन समूह मिलेर उपभोक्तालाई १२ वटा समूहमा विभाजन गर्दै प्रत्येक समूहलाई तरकारीखेती र पशुपालनका लागि रु ४० हजारका दरले सहज रुपमा ऋण उपलब्ध गराउँदै आएको छ ।

प्राप्त आम्दानीको २५ प्रतिशत वनको विकासमा, ३५ प्रतिशत गरिबी निवारण, १० प्रतिशत संस्थागत खर्च र बाँकी ग्रामीण क्षेत्रको विकासमा खर्च हँुदै आएको छ । जाँते–९ को वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिले विद्युतीकरण, बाटो निर्माण, गरिबी निवारण र वन व्यवस्थापनमा रु एक करोड ५० लाखभन्दा बढी रकम लगानी गरेको छ ।

सो गाविसको खोलीटार, गुप्ती, धानखेती बाह्रगोठे, लालझोडा, बेलटार, साम्लिङ तथा जाँते–२ र जाँते–१ का सामुदायिक वन समूहको समेत गाउँको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया