सडक मर्मतका लागि आन्दोलन

इनेप्लिज २०७२ असोज १८ गते ३:५० मा प्रकाशित

भीमदत्तनगर, १८ असोज । कञ्चनपुरको भीमदत्तनगरस्थित जानकीटोलका स्थानीय बासिन्दाले दोधरा–चाँदनी झोलङ्गे पुल जोड्ने सडक समयमै कालोपत्रे नगरेको भन्दै आन्दोलन थालेका छन् ।

सडक मर्मतको माग गर्दै आएका स्थानीयवासीले आइतबारदेखि सडकमा चार पाङ्ग्रे सवारी साधनलाई सञ्चालनमा रोक लगाएका छन् ।

लामो समयदेखि स्थानीय निकायसँग सडक मर्मतको लागि पहल गरिदिन आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूहरु आन्दोलित भएको स्थानीयबासी यज्ञेन्द्र रावलले बताउनुभयो । मोटरसाइकल, रिक्सालगायतका साना साधनहरु सञ्चालनमा रहे पनि ठूला सवारीसाधनहरु आइतबार दिनभर सञ्चालनमा आउन सकेनन् । स्थानीयबासीले सडकका विभिन्न स्थानमा ढुंगाहरु राखेर यातायात सेवा अवरुद्ध पारेका छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख बिनोद मुनुवारले बर्षाका समयमा सडक मर्मतमा समस्या भएकाले समयमा काम सक्न नसकेको बताउनुभयो । पछिल्लो समय नाकाबन्दी लगायतका विविध समस्याले निमार्ण सामाग्रीहरु तथा डिजेल पेट्रोलको अभावले पनि सडकको काम रोकिएको सडक डिभिजन कार्यालयको भनाई छ ।

प्रतिक्रिया