धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार

इनेप्लिज २०७२ असोज १६ गते ४:२८ मा प्रकाशित

खोटाङ, १६ असोज । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको छ ।

जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको हो ।

पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन भएपछि आधा घन्टा तलबाट गाग्रीमा बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय मङ्गल परियारले बताउनुभयो ।

“अहिले घरघरमा निर्माण गरिएको धारामा पानी आउँछ ।” उहाँले भन्नुभयो, “घरैमा निर्माण गरिएको धारामा पानी आएपछि लिन जाँदा लाग्ने समयको बचत भएको छ ।”

पम्पिङ प्रविधिबाट विस्तार गरिएको खानेपानी योजनाबाट महादेवीस्थान–४ स्थित मन्दिर क्षेत्रमा बसोबास गर्ने ३७२ तथा वडा नम्बर–५ मा बसोबास गर्ने ८० घरपरिवार उपभोक्ता लाभान्वित भएका छन् । लामो समयपछि पम्पिङ प्रविधिबाट पानी तानेर विस्तार गरिएको धाराको पानी उपभोग गर्न पाएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् ।

हिन्दू, बुद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहान नजिक ५० हजार लिटरको ट्याङ्की निर्माण गरेर विद्युत्को माध्यमबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी विस्तार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल गिरीले बताउनुभयो । सो समितिका अनुसार ४०५ मिटर तलबाट तानिएको पानीलाई बजार क्षेत्रको तीनवटा ट्याङ्कीमा जम्मा गरेर २२ तथा वडा नम्बर–५ मा दुईवटा ट्याङ्कीमा जम्मा गरेर ११ वटा धारामार्फत पानी वितरण गरिएको छ ।

उपभोक्ता समितिले दिएको जानकारीअनुसार घरमा निर्माण गरिएका धारामा बिहान र बेलुका दुई÷दुई घन्टा खोलीदिने गरिएको छ भने, मन्दिरमा २४सैँ घन्टा खुला गरिन्छ ।

जिल्लामा पहिलो पटक सञ्चालन गरिएको विद्युतीय पम्पिङ प्रविधि सफल भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । “जिल्लामा हलेसीजस्तै दर्जनभन्दा बढी गाविसमा यस्तो समस्या छ ।” उहाँले भन्नुभयो, “हलेसीको योजना सफल भएसँगै अन्य ठाउँका समस्यामा पनि अध्ययन थालेका छाँै ।”

जिल्ला विकास समितिको रु नौ लाख, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु छ लाख ४० हजार, मारतीका गुम्बाका वाङ्सु लामाको रु नौ लाख र स्थानीयवासीको श्रमदानमा योजना सञ्चालन गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया