वर्षात् नसकिँदै खानेपानीको हाहाकार

इनेप्लिज २०७२ असोज १६ गते ४:१३ मा प्रकाशित

Drinking-Waterसल्यान, १६ असोज । पश्चिमी क्षेत्रमा वर्षात् नसकिँदै खानेपानीको हाहाकार हुन थालेको छ ।

मूलखोला–५ च्युरामा खानेपानी आपूर्ति हुने जुम्लेधाराको मुहान खडेरीका कारण सुकेपछि गाविसका ३, ४ र ५ वडाका बस्तीमा खानेपानीको अभाव हुन थालेको हो ।

बीस वर्षअघि निर्माण गरिएको खानेपानीको मुहान यो वर्ष पानी नै नपरे पछि अहिले नै सुकिसकेको छ । गाउँमा पानी ल्याउनका लागि अन्य मुहान नभएपछि सङ्कट परेको स्थानीय हिराला विष्टले जानकारी दिनुभयो । “पोहोर सालसम्म वर्षात्मा पानीको मुहान बढ्दा दुई महिनामात्रै खानेपानीको अभाव हुन्थ्यो, अहिले वर्षात्मै मूल नै सुक्यो अहिले नै गाउँमा पानी छैन ।” विष्टले भन्नुभयो ।

तीन वडाका करिब २५० घरधुरीलाई खानेपानी आपूर्ति हुँदै आएको मुहान नै सुकेपछि स्थानीय बासिन्दा बन्गाड खोलाको पानी खान बाध्य छन् । “पोहोर सालसम्म वर्षात्मा पाइपमा नअटेर पानी बाहिर जान्थ्यो यसपालि भने अहिले नै सुकिसक्यो, मूल सुकेकाले मलाई पनि बेरोजगार बनायो–” पानीका चौकीदार मोहलाल सुनारले भन्नुभयो ।

स्थानीयवासीले चार घन्टासम्म तल पुगेर एकगाग्री पानी ल्याएर गुजारा चलाउँदै आएका छन् । परिवारमा एक जनाको पानी बोक्ने मात्रै काम हुन्छ । “गाउँमा भएका अन्य मुहानमा पनि यो वर्ष पानी आएन, वरपर कतै पानी नभएका कारण वर्षात्मै सङ्कट प¥यो स्थानीय दुर्गा विष्टले भन्नुभयो ।

कम वर्षाका कारण यस क्षेत्रका घाँजरी, मूलखोला, देवस्थल, माँझकाँडालगायत गाविसमा लगाएको तरकारीखेती, मकै, धानबाली समेत सुकिसकेको छ ।

प्रतिक्रिया