शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:१४
वासिङटन डिसी 05:29

अठार वर्षअघि खुकुरी देखाएर लुट्ने समूहका नाइके पक्राउ

इनेप्लिज २०७२ असोज १४ गते २:३१ मा प्रकाशित

khukuri-1बेलौरी (कञ्चनपुर), १४ असोज । अठार वर्षअघि नकाब लगाएर महाकाली नदी किनार क्षेत्रमा कञ्चनपुरको दोधारा–चाँदनीका एक नागरिकलाई लुट्ने समूहका नाइके पक्राउ परेका छन् ।

नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोली महाकालीले बुधबार दोधारा–चाँदनीका नागरिक रनतबहादुर नारालाई नकाब लगाएर लुट्ने नरेश रानालाई पक्राउ गरेको हो ।

अनुसन्धान टोली महाकालीका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले रानालाई उनकै निवास भीमदत्त नगरपालिका– ६ वनगाउँबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार रानाले १८ वर्षअघि अर्थात् २०५४ कात्तिक ६ गते रतनलाई दोधारा घरदेखि महेन्द्रनगर आउने क्रममा महाकाली नदी किनार क्षेत्रमा कुखुरी देखाएर नगद रु एक लाख, २६ हजार ८०० लुटेको थियो ।

पैसा लुटेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०५६ असोज ९ गतेको निर्णयले चार वर्ष दुई महिना कैद सजाय तोकेको थियो ।

अदालतले तोकेको सजाय भुक्तान नगरेका कारण रानालाई पक्राउ गरी अदालत चलान गरिएको समेत क्षेत्रीय अनुसन्धान टोली महाकालीका इन्चार्ज जोहारीले बताउनुभयो ।

रानासँगका अन्य लुटेराहरु फरार भएको इन्चार्ज जोहारीले बताउनुभयो । विगत दुई वर्षदेखि क्षेत्रीय टोलीले अदालतबाट कैद तोकेका तर कैद र दण्ड भुक्तान नगरेका फरार अभियुक्तलाई पक्रँदै अदालत पेस गरिरहेको छ ।

प्रतिक्रिया