गाँजाको बोट नष्ट

इनेप्लिज २०७२ असोज १४ गते २:१८ मा प्रकाशित

gaajaबाबियाचौर (म्याग्दी), १४ असोज । म्याग्दी सदरमुकाम बेनी बजार नजिकै रहेको बगरफाँटमा बुधबार स्थानीयवासी र प्रहरी मिलेर गाँजाका बोट फँडानी गरी नष्ट गरेका छन् ।

कालीगण्डकी नदी किनार, स्थानीयवासीका करेसाबारी र पाखोमा उम्रिएका गाँजाका कारण युवायुवती लागुऔषध दुव्र्यसनी र कुलतमा फस्न थालेपछि त्यसलाई नियन्त्रणका लागि गाँजाका बोट नष्ट गरिएको हो ।

बेनी र अन्य क्षेत्रबाट युवायुवतीले बगरफाँट क्षेत्रलाई दुव्र्यसनीको अखडा बनाउँदै गएकाले गाँजा फँडानी गरेको बगरफाँट बजार व्यवस्थापन समितिका अध्यक्ष रवि भण्डारीले बताउनुभयो ।

बजार व्यवस्थापन समिति, पर्वत बेनी प्रहरी चौकी, बगरफाँट आमा समूह र सिद्धबाबा युवा क्लबका पदाधिकारी तथा सदस्यहरुले करिब एक हजार गाँजाका बोट फँडानी गरी नष्ट गरी कालीगण्डकीमा बगाएका थिए ।

साहित्यिक कृति बेचेर अस्पताललाई उपकरण सहयोग

म्याग्दीका एक साहित्यकारले आफ्ना दिवङ्गत श्रीमान्को स्मृतिमा जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको छ ।

बेनपा– १३ राक्से निवासी हीरा शर्माले दिवङ्गत श्रीमान् मुकुन्द नेपालको पुण्य तिथि पारेर बुधबार रु ७० हजार मूल्य बराबरको इसिजी मेसिन अस्पताललाई सहयोग गर्नुभएको हो । उक्त उपकरण मुटुरोगीको उपचारमा प्रयोग हुने जनाइएको छ ।

साहित्यकार शर्माले अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसी, चिकित्सक हेमा जोशी र धीरेन मल्ललाई सो उपकरण हस्तान्तरण गर्नुभयो । उहाँले साहित्यिक कृति बेचेर भएको आम्दानी र श्राद्ध, पूजाआजामा हुने खर्च कम गरेर अस्पताललाई सहयोग गरेको बताउनुभयो ।

उहाँले गत वैशाखमा ‘उसको डायरी’ नामको उपन्यास प्रकाशन गर्नुभएको थियो । सोही कृति बेचेर भएको आम्दानीले इसिजी मेसिन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको शर्माले बताउनुभयो ।

प्रतिक्रिया