सहसचिव सुवेदीले उमेर घटाएको सर्वोच्चको ठहर

इनेप्लिज २०७२ असोज १३ गते १५:३१ मा प्रकाशित

supreme_courtकाठमाडौँ, १३ असोज । कीर्ते गरेर उमेर बढाएको विवादमा परेका वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीले शुक्रबारदेखि अवकाश लिनुहुने भएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज दिएको आदेशमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र पाटन संयुक्त क्याम्पसको पत्रबाट सहसचिव सुवेदीको जन्ममिति २०१४ साल असोज १५ गते उल्लेख भएको तर २०१७ साल असोज १५ गते जन्ममिति पुष्टि गर्ने आधार छुटै देखाउन नसकेको उल्लेख गरिएको छ ।

निजामती सेवाको ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार जागिरबाट अवकाश लिनुपर्ने छ ।
सहसचिव सुवेदीले मोरङबाट २०३२ सालमा लिएको नागरिकतामा उहाँको जन्ममिति २०१४ साल असोज १५ उल्लेख छ तर उहाँको कानुन किताब खानामा सच्याएर जन्ममिति २०१७ साल असोज १५ बनाएको बुझिएको थियो । सच्याएको जन्ममितिअनुसार उहाँको अझै तीन वर्षको पदावधि भएको जिकिर गरिएको थियो ।

सामान्य प्रशासन मन्त्रालयले गरेको छानबिनमा उहाँ दोषी देखिएपछि साविक उमेर हदअनुसार नै सुवेदीलाई सरकारले असोज १५ देखि लागू हुनेगरी अवकाशपत्र दिएको थियो । सरकारको सो निर्णयविरुद्ध सहसचिव सुवेदीले यही असोज ६ गते रिट निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया